तेह्रथुम । आठराई गाउँपालिकाले स्नातक तहमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

संविधानले दलित विद्यार्थीलाई उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था गरेपनि गाउँपालिका क्षेत्रमा रहेका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूको त्यस्तो छात्रवृत्तिमा पहुँच नरहेको र कमजोर आर्थिक अवस्थाकै कारण विद्यार्थीहरूलाई पढाई पूरा गर्न समस्या भइरहेको यथार्थलाई मध्यनजर गर्दै गाउँपालिकाले स्नातक र स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

सक्रान्तिबजारस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बलिराज ईङनामले क्याम्पसका विद्यार्थीहरूलाई उच्च शिक्षा सफलताको कामनासहित छात्रवृत्ति वितरण गरे । गाउँपालिकाभित्र दुई स्नातक तहमा अध्यापन गराउने त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पस र त्रिविको मान्यताप्राप्त ह्यात्रुङ झरना क्याम्पस गरी दुई वटा क्याम्पस छन् ।

हाल ती क्याम्पसमा अध्ययनरत दलित समुदायका २३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी ९ हजार ५ सयका दरले छात्रवृत्ति उपलब्ध गराइएको गाउँ कार्यपालिकाकी सदस्य लिला बयलकोटीले जानकारी दिइन् । छात्रवृत्ति वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष ईङनामले गाउँपालिकाले दलित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा प्रोत्साहन गर्न गाउँपालिकाले छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताए ।

‘गाउँपालिकाको कार्यक्षेत्र माध्यमिक तहको शिक्षा व्यवस्थापनमात्रै हो । तर उच्च शिक्षा अध्ययनमा समेत दलित समुदायका युवाहरूलाई सहयोगको खाँचो छ,’ उनले भने, ‘हामीले अहिले त्यही खाँचोलाई पूरा गर्ने प्रयास गरेका हौँ ।’

उनले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । गाउँपालिकाले क्याम्पसहरूको सिफारिसका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छात्रवृत्ति वितरण उपभोक्ता समितिका अध्यक्ष टेकेन्द्र धौलाकोटीले बताए ।

सोही अवसरमा दलित अधिकारका विषयमा दुई दिने क्षमता विकास कार्यक्रमसमेत सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रका जनप्रतिनिधि, दलित समुदायका नेता, शिक्षक, सामाजिक अगुवा र युवा बिद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया