काठमाडौं । प्रमुख राजनीतिक दलका दलित भ्रातृ संघसंगठनहरूले जुम्लामा अन्तरजातीय विवाह गर्दा दलितको घरमा आगजनी गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले सो घटना एउटा दलित युवा र उसको परिवारमाथि गरिएको अपराध मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत चेतना, मूल्यमान्यता र मानवताविरुद्धकै गम्भीर अपराध भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तरजातीय विवाह गरेकै कारण गत आइतबार जुम्लाको तातोपानी गाउँपालिका-४ गिडीखोलाका मुकुन्द नेपालीको घरमा आगजनी गरिएको थियो । मुकुन्दले छिमेकी गिरी थरकी किशोरीसँग दुई वर्षको प्रेम सम्बन्धपछि भागेर विवाह गरेका थिए । उनीहरूले भागेर विवाह गरेको चार दिनपछि किशोरीका दाजु हिम्मत गिरीलगायतले मुकुन्दको घरमा परिवारका सदस्यहरूको आगजनी गराएका थिए ।
कांग्रेससम्बद्ध नेपाल दलित संघका संयोजक शम्भु हजारा पासवान, एमालेसम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाजका सचिव टेक घतानी, माओवादीसम्बद्ध नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली, नेकपा एससम्बद्ध नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मा, जातीय समता समाजका महासचिव भक्त विश्वकर्मा, श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल विश्वकर्मा, जात व्यवस्था उन्मूलन मोर्चाकी अध्यक्ष शान्ति गजमेर, नेपाल समाजवादी दलित मुक्ति संगठनका इन्चार्ज गजाधर सुनार र नेपाल दलित मुक्ति मोर्चाका नेता शोभा सेन्चुरीले संयुक्त राजनीतिक दलित संघर्ष समितिमार्फत शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जुम्ला घटनामा पीडित परिवारको सुरक्षा र क्षतिपूर्तिको माग गरेका छन् ।
‘आगजनीबाट मुकुन्द नेपालीको घर पूर्ण रूपमा क्षतिग्रस्त भई अन्दाजी ६५ लाख बढीको धनसम्पतिको क्षति भएको छ । यो घटना एकजना दलित युवा र परिवारमाथि गरिएको अपराध मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत चेतना, मूल्यमान्यता र मानवता विरूद्धकै गम्भीर अक्षम्य अपराध हो,’ उनीहरूले विज्ञप्तिमार्फत् भनेका छन् ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले घटनापछि भागेर विवाह गरेका जोडी फरार रहेको भन्दै उनीहरूको जीऊधनको सुरक्षा गर्न र आगजनीबाट भएको घर र धनमालको क्षतिपूर्ति दिन, पीडितलाई न्याय प्रदान गर्न र गाउँका २८ घरधुरी दलितको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले एकपछि अर्को गरी श्रृंखनाबद्ध रूपमा दलितहरूमाथि जातीय भेदभावका घटना घटाइनु र झुटा मुद्दामा फसाउने कार्य भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । ‘गोरखा आरुघाट गाउँपालिकाका सन्तोष नेपाली र धादिङ नीलकण्ठ नगरपालिकाकी बबिता श्रेष्ठबीचको अन्तरजातीय विवाह भएको २ महिनापछि जातीय कारणले जबरजस्ती करणीको झुठ्ठा मुद्दामा फसाइएको छ । यसबाहेक बैतडी, कास्की, सिराहा, दाङलगायत देशका विभिन्न ठाउँमा पनि विभेदका घटनाहरू बाहिर आएका छन्,’ विज्ञप्तिमार्फत भनिएको छ, ‘यस्ता अत्याचारपूर्ण घटनाको हामी घोर भर्त्सना गर्दै झुटा मुद्दा तत्काल खारेज गर्न र जातीय भेदभाव र छुवाछुतका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछौँ ।’