सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घर नजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायका अनुसार गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक जना साथी आएका थिए । त्यसलगत्तै ४ जना आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिटसमेत गरे ।
किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए । त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
ज्याला मजदुरी गरी जीविको पार्जन गर्ने किशोरीका बुवा कामका सिलसिलामा जनकपुर गएका थिए । किशोरीकी आमा र बहिनीलाई अर्को कोठा राखेर चुकुल लगाइ आरोपीहरूले थुनेका थिए ।
सामूहिक बलात्कार भएको घटना किशोरीले पहिले घरपरिवार र छरछिमेकीलाई बताएपछि सोमबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । डीएसपी रायका अनुसार पक्राउ परेका चारै जनालाई मंगलबार अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिने डीएसपी रायले जानकारी दिए ।