वालकृष्ण माबुहाङद्वारा लिखित किताव ‘ईःमानु निःमा ‘(डुल्नु देख्नु र बुझ्न), प्रत्यक्ष रुपमा प्रकृति र पात्रहरुसंग आँखा जुदाउँदै लेखिएको अर्ग्यानिक किताव हो । नेपाली वा विदेशी शासक, लेखक, मिडीया जगत हरुले नदेखेका, नभेटेका, नटिपेका, नवटुलेका, देशका कुना-कन्दराहरु नाका-सिमाना, रस्ती- वस्ति हरुमा स्थलगत भ्रमण र अवलोनकन गरेका कुराहरु यो कितावमा उतारिएका छन्।
तराई, पहाड र हिमालका आसपास अनि दुर्गम गाउँ ठाउँ र समाजका पाटा र पक्ष, आस्था र आराधनहरु केस्रा केस्रा गरि केलाएर लेखिएको यो किताव पढन सुरु गरेपछि सकिएको थाहै हुदैन। तर यो किताव हातमा परे पछि काम काज सवै थाँती राखेर गुटुङटुङ पढन मन लाग्छ।
प्रकृतिका सुन्दर भू-दृष्य, भू- वनवोट, हिमाल- पर्वत, पाखा-पखेरा भित्ता, खोला-नाला उपत्याका र भज्याङहरुसँग मानिस र समाज विकाशका सम्बन्धका तन्तुहरु कसरी जोडिएका रहेछन् भन्ने मिथकहरु पनि बढा रोचक ढंगले चर्चा गरिएका छन्।
देशमा आएका राजनीतिक परिवर्तन र प्रणालीका हावाहरु देशका कुन कुनासम्म पुगे र कस्लाई छोयो वा छोएन भन्ने आदि ईत्यादि कुराहरु पनि यो कितावमा उल्लेखित छन्। बीच-बीचमा देशका शासन कर्ताहरुलाई गाउँ समाज देश विकाश गर्ने सल्लाह र सुत्रहरु पनि सेयर गरिएको छ।
जनसंख्या वृद्धि वा नियन्त्रणले आर्थिक सामाजिक विकाशमा के कस्तो प्रभाव पार्न सक्छन ? र यसको प्रक्षेपण र पुर्वधार विकाशको योजनाहरुको तादम्यता कसरी मिलाउने भन्ने व्यवहारिक सुझावहरु पनि पेश गरिएका छन्। दुर्गम र स्थानीय तहहरुमा शिक्षाको मुलधार नीतिले कस्तो खाल्लको अनयोलताहरु सिर्जना गरिरहेको छ भन्ने कुराहरु प्रत्यक्षरुपमा स्थानीय जनप्रतिनिधिहरुसँग भलाकुसारी गर्दै गहिरो ढंगले वुझ्न खोजिएको छ ।
साथै यसको सुधारको लागि मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्दै यो वाटोले छोएको बजाहरुमा विश्वविधालयहरु निर्माण गर्न सके जीवनमुखी सिपमुखी र परिणामुखी शिक्षा आमनागरिकले पाउन सक्थे भन्ने लेखकको भावलाई बुझ्न सकिन्छ ।
यात्राको क्रममा आँखामा ठोक्किन आएका हरेक भुगोल र त्यहाँ अवस्थित वनस्पती र पात्रहरुका चरित्र, प्रवृत्ति, इतिहास मानसिकता र मनोविज्ञानहरु गहिरो ढंगले बुझ्ने कोशिस गरिएका कुराहरु यो कितावमा समेटिएका छन्। खाँदबारीमा भेटिएका एक शेर्पेनि दिदीको अनुसार ‘च्याम्तांग’गाउँमा परिवारका सदस्यहरु आमा, बाबा, दाजु,भाई, बुहारी सवै एउटै लाईनमा सुत्ने चलन थिएछ। तर पछि त्यो गाउँका एक शिक्षित व्यक्ति छुन्दुक शेर्पा स्विजरल्याण्ड गएर आए पश्चात् त्यो गाउँमा परिवारका सदस्यहरु एक ठाउंमा नभई भिन्ना भिन्नै कोठामा सुत्ने प्रचलन स्थापित हुँदा ति भोटेनी दिदीलाई समाजमा ठुलो परिवर्तन आएको महसुस भएको कुरा व्यक्त गरेकी छिन्।
परिवर्तन के हो आफ्नो-आफ्नो बुझाइ र व्याख्या रहेछ भन्ने कुरा उनको त्यो अभिव्यक्तिबाट बुझ्न सकिन्छ । अर्थात् सबैले खोजेको परिवर्तन एउटै होइन वा एउटै हुन सक्दैन भन्ने विज्ञान पनि त्यहाँ भित्र छ । बसमा यात्रा गर्दा गाडी स्टाफहरुको रुखो व्यवहारहरु प्रकट भएका पढ्दा खलांसी ड्राईभरहरुलाई पनि आर्मी/पुसिलमा जस्तो ९ महिना नैतिक शिक्षाको तालिम दिएपछि सर्टिफिकेट दिएर मात्र गाडी स्टाफ बन्न पाउने नियम कानुन संविधानसभाबाट पास गर्नुपर्ने बुझियो ।
किन भने विदेशी वा स्थानीय पर्यटन प्रवर्द्धनकोलागि खलांसी र ड्राईभरहरुको भूमिका पनि अरु समाजका विभिन्न तह र तप्कामा भएको नागरिकहरुको जस्तै महत्वपुर्ण हुन्छ।
वंशवादको राजनीतिले नेपाल लगायत अरु एशियाली मुलुकहरु कसरी गिजोलिएका छन् र जसको कारणले राजनीतिक दलहरु कमजोर हुनुको परिणाम परिवारवाद र व्यक्तिबाद हावी हुन गए भन्ने ज्ञानवर्दक कुराहरु चर्चा गरिएको छ। सन् २०१५ सालमा संस्थापक नेता लि क्वानको निधन भएपछि सिंगापुरमा पनि वंशको राजनीति चर्चामा आएको थियो । तर लि क्वानले आफ्नो निधन अगावै वंशको राजनीति र विरासतप्रति कुनै चासो र चिन्ता नभएको कुरा प्रष्ट पारेका थिए।
उनले बारम्बार आफैँले जन्माएको पी.ए.पी पार्टी जुन सन १९५९ देखि सरकारमा छ । तर यो पार्टी भोलि रहोस् नरहोस् वा उनका भावी सन्ततिहरुले राजनीति गरुन नगरुन त्यो उन्को सरोकारको विषय नभई सिंगापुर अजर अमर रहनुपर्छ।
जिवीत रहनु पर्छ भन्ने सोचले मात्र उनि निर्देशित थिए। उन्को विरोधी र आलोचकहरुले लि क्वान यू आफनो विरासत जोगाउन चाहन्छ भन्ने आरोप लगायता पनि उनि संधै (एक्सेप्सनल) असामान्य र असाधारण क्षमता भएका नेताहरुले नेतृत्व सम्हाल्नु पर्छ भन्ने मान्यता लाई अंगालेर हिंडेका थिए।
संक्षेपमा भन्ने हो भनेः ईःमानु निःमा किताव पढे पश्चात सिंगो नेपाल बुझेको छु, देशको छेउकुना पर्गेले भन्ने घमण्डले छाती फुलिन्छ। नेपाल देश चाहार्न खोज्ने, बुझ्न चाहानेहरुको लागि यो किताव एउटा पुरै ईनसाईक्लोपिडिया जस्तै छ।
यसले आउँदो पिंडीहरुलाई देशलाई कसरी हेर्ने र बुझ्ने भन्ने विषयमा एउटा कम्पासले झैँ दिशा निर्देश गरेको पाइन्छ । त्यतिमात्र नभएर राजधानीमा उपरखुट्टी लगाएर बस्ने प्रध्यापक/लेखकहरुलाई पनि देशका हरेक सिमानाहरु लाई छुन पर्छ, नेपालको ईन्द्रेणी समाजमालाई चिन्न प्रत्यक्ष रुपमा घुलमेल हुनु पर्छ ।
अनि मात्र देशको धरातलिय यथार्त बुज्न, टिप्न, देख्न, लेख्न सकिन्छ ।र आम नेपाली या नीति नीर्माताहरुलाई खाट्टी सुचना दिन सक्षम भईन्छ भन्ने वेजोड सन्देश पनि यो कितावले दिएको छ ।
कितावको मुल्यभन्दा कयौं गुणा बढी मुल्यको ज्ञान यो कितावमा संचित गरिएको छ । किन्नुहोस् , पढनुहोस् र फाईदा लिनुहोस्। मेरो निवेदन !