जीवन परियार,
लामो समयको प्रतीक्षा पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्यो। केन्द्रीय समिति बैठक किन बस्दैन भन्ने प्रश्न हामीले खेपिरहेका थियौँ, ढिलै भएपनि केन्द्रीय कार्यसमितिको बैठक बसेर त्यसको जवाफ दिएको छ । समग्रमा यो नै सुखद पक्ष हो ।
आज नेपाली कांग्रेस मुलुकका राजनीतिक दलहरुको पनि नेता पार्टी हो । राजनीतिक दलले आफ्नो गरिमालाई कायम राख्न सक्नुपर्छ । पार्टी जीवनमा कहिल्यै पनि हतारमा निर्णय गर्ने र फुर्सदमा पछुत्याउने गर्नुहुँदैन । सफल नेतृत्वका लागि सबैभन्दा महत्वपूर्ण आधार आफ्ना सबलता र दुर्बलताको राम्रो ज्ञान हुनु, र त्यो अभिव्यक्त हुनुअघि नै दुर्बलताको न्यूनिकरण गर्ने क्षमता हुनु हो । अरुको नेतृत्व गर्नुअघि स्वयंको नेतृत्व गर्न सक्नु पनि हो । त्यसैले यो बैठकबाट हामीले के सन्देश दियौँ भन्ने कुरा मुख्य हो ।
कमजोरी त सबैका हुन्छन् । ती कमजोरीका सम्बन्धमा हामीसँग तीन विकल्प हुन्छन्, पहिलो- देखाउने, दोस्रो- लुकाउने, र तेस्रो- सच्चाउने । आजसम्म हामीले कमीकमजोरीहरु लुकाउँदै आयौं । यसपटक छरपष्ट हुने गरी देखाएका छौँ । यी दुबै विकल्प उपयुक्त होइनन् । खास त सच्याउनुपर्ने हो । अब हाम्रो ध्यान यसतर्फ जान आवश्यक छ ।
हामीले विगतदेखि हाम्रो कुरामात्रै सुनाउँदै आएका छौँ । कहिले सडकबाट, कहिले मञ्चबाट र यसपटक बैठकको लाइभबाट । तर हामीले यो कुरालाई ध्यान दिएर ख्याल गरेका छैनौँ कि जनताले हाम्रो कुरा सुन्न चाहिरहेका छन् कि छैनन् ? अब यो कुरालाई पनि हृदयंग गर्न आवश्यक छ ।
अहिलेको परिस्थितिमा नेपाली कांग्रेस पार्टीले आफ्नो कुरा मात्रै सुनाउनेभन्दा पनि आम जनसमुदायको कुरा सुन्ने र तिनको सम्बोधन गर्नेतर्फ हाम्रो प्रयास हुनुपर्छ ।
हामीले केन्द्रीय समिति बैठकलाई सामाजिक सन्जालबाट लाइभ गर्यौँ । तर यसले दीर्घकालमा कस्तो असर पार्छ ? भनेर हामीले ख्याल गर्नु आवश्यक छ । तत्कालमा यसले कोही व्यक्तिलाई फाइदा पुग्न सक्छ । तर सिंगो पार्टीलाई यसले फाइदा पुर्याउँछ जस्तो लागेको छैन । यो गलत अभ्यास नै हो ।
हुन त यसका राम्रा पक्षहरु पनि छन् । राजनीतिक दलहरुले आफ्नो बैठकमा के कस्ता विषयमा छलफल गर्छन् भनेर नागरिकलाई प्रत्यक्ष जानकारी हुनु सुखद पक्ष हो । साथ-साथै यो बैठक लाइभ गरेपछि पार्टीका कार्यकर्ता र जनतामाझ समेत नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई परिचित गराउने काम पनि गरेको छ ।
वर्तमान सभापतिज्यूले पहिलो कार्यकाल पूरा गरि दोस्रो कार्यकाल चलेको दोस्रो वर्ष पुगेको छ । उहाँ सभापति हुनुपूर्व लामो समय पार्टीको बरिष्ठ नेता हुनुहुन्थ्यो । पाँच पटक देशको प्रधानमन्त्री हुनुभयो । धेरै अनुभव बटुल्नु भएको छ । त्यो अनुभवबाट पार्टीलाई थप सशक्त बनाउन जरुरी छ । यसका बाबजुद पनि केही बिचार आम कांग्रेसजनमा छताछुल्ल छ ।
केन्द्रीय समितिको बैठकमा आएका कुराहरुलाई सत्य मान्ने हो भने त सबै ठीकठाक चलिरहेको छ भन्ने कुरामात्रै त रह्यो । तर साँच्चै अवस्था त्यही हो त ? सबै कुरा ठीक छ, केही कमजोरी नै छैनन् । अब केही गर्नु पर्दैन भन्ने लागेको छ भने त्यसै गरौँ। पार्टी सुधार गर्न बहस, छलफल, हुनुहुँदैन भन्ने हो भने पनि भनौँ, पार्टीमा राजनीतिक सन्तुलन आवश्यक छैन भने त्यो पनि भनौँ, के यसै गरि निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौतीको सामना गर्नु सक्छौँ त ? भ्रातृसंस्थाको अवस्था के छ, कति समय भयो पूर्णता नपाएको ? जनसम्पर्क समितिको अवस्था के छ ? विभाग गठनको विषय किन हुन सकेको छैन? कार्यसमितिको पूर्णता किन हुन सकेको छैन? पार्टी केन्द्रलाई प्रश्न गरेका छन् ।
अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले भातृसंस्था बनाउँदा नेताहरुसंग आबश्यक परामर्श गरि गठन गर्ने निर्णय गरेको थियो । के नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति महासंघ, किसान महासंघ बनाउँदा उक्त निर्णय पालना गरियो त ? एकपक्षीय भयो भन्ने व्यापक गुनासो छ, तसर्थ बाँकी गठन हुन बाँकी रहेका भ्रातृ संघ गठन गर्दा पार्टीमा सन्तुलन कायम हुनुपर्दछ ।
तीनै तहको निर्वाचनको कुरा गर्दा विभिन्न समुदायका आ-आफ्ना पीडा छन् । म पार्टीमा दलित समुदायको प्रतिनिधित्व गर्छु । त्यसकारण यो निर्वाचनमा दलित समुदायले भोगेका केही दृष्टान्तहरु यहाँ राख्न उपयुक्त ठानिरहेको छु, हामी इतिहासलाई सम्झेर पार्टीका दस्तावेज र विभिन्न कार्यक्रममा हामी भाषण गर्दछौँ । तर इतिहासबाट केही सिकेर व्यवहारमा लागू गर्न सकेका छौ त ? यो प्रश्नमाथि पार्टीले गम्भीर भएर सोच्नेबेला आएको छ ।
२००३ सालमा बीपी कोईरालाले स्थापना गर्नुभएको नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक सदस्य देवव्रत परियार हुनुहुन्थ्यो, जो दलित समुदायबाट हुनुहुन्थ्यो । २००५ सालमा सुवर्ण शम्शेर नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक सदस्य आरवि गहतराज हुनुहुन्थ्यो । पछि २००९ सालमा नेपाली कांग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भयो, र त्यो बेलामा समेत नेपाली कांग्रेसले धनमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाएको थियो ।
हामीले विगत मात्र सम्झना गरेर पुग्दैन । विगतमा यो थियो भनेर हामीले पार्टीप्रति मतदातालाई आकर्षित गर्न सकिदैन, वर्तमान सबैले देखेर हामीप्रति आकर्षण हुने हो । दलित समुदाय भनेका भोट बैंक मात्र हुन् त भन्ने प्रश्न अहिले हामीमाथि तेर्सिएको छ ।
२०४८ पछिको इतिहास हेर्ने हो भने यो ३२ बर्षमा नेपाली कांग्रेसले जम्मा तीन जनालाई मात्रै टिकट दिएको छ । २०४८ मा बाँकेको ३ नं क्षेत्रबाट कृष्णसिह परियार, २०६४ को पहिलो संविधान सभामा अर्घाखाँची क्षेत्र नं बाट मानबहादुर बिश्वकर्मा र २०७४ को निर्वाचनमा कास्की १(१) बाट प्रदेश सभामा मैले टिकट पाएको हुँ । २०७४ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगर पालिकामा वर्तमान केन्द्रीय सदस्य नृप ओड र कन्चनपुरको दोधारा चाँदनीमा बीरबहादुर सुनारले टिकट पाएर विजयी हुनुभयो । केही महिना नेताहरुले स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षको टिकट पाएर जित्नुभयो । देशभरि वडामा दलित समुदायले टिकट पाएर निर्वाचित हुनेबाहेक दलितलाई कांग्रेसमा कुनै अवसर छैन ।
पछिल्लो निर्वाचनमा देशभरिमा एकमात्र बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा पालिका सभापति भगत नेपालीले टिकट पाउनुभयो । तर आफ्नै साथीहरुका कारण चुनावमा पराजित हुनुभयो । केही पालिकामा दलित महिलाले उपप्रमुख र उपाध्यक्षमा टिकट पाए पनि ५/६ जनाबाहेक निर्वाचित हुने अवस्था रहेन ।
संसदको टिकटका बारेमा म आफै संसदीय समितिमा थिएँ । सुनसरीमा मीन बिश्वकर्मा, ईलाममा सुजाता परियार, उदयपुरमा लक्ष्मी परियार, रुकुममा मानबहादुर नेपाली, काठमाडौंमा हरिशरण नेपाली र बझाङमा प्रकाश रसाईली स्नेहीका बारेमा घनिभुत छलफल भयो । तर एक जनाले पनि टिकट पाउने अवस्था भएन ।
दलितलाई किन टिकट दिइदैन भन्यो भने एक शव्दमा जवाफ आउँछ । जित्दैनन् । मेरो प्रश्न छ- के पार्टीको टिकट पाएका सबैले चुनाव जितेका छन् त ? त्यसैले दलित समुदाय भनेको नेपालको जात व्यवस्थामध्ये सबैभन्दा पिँधमा रहेको समुदाय हो । राज्यले बलपूर्वक पछाडी पारेको समुदाय भएकोले यो समुदायलाई मुल धारमा ल्याउन विशेष व्यवस्था गर्न जरुरी छ भन्ने हाम्रोजस्तो लोकतान्त्रिक पार्टीले अनुभूति गर्ने कि नगर्ने ? हामीमाझ यो प्रश्न तेर्सिएको छ भन्ने लाग्छ ।
भूमिहीनलाई जग्गा कहिले ?
सरकारले भूमिहिन तथा सुकुम्बासीका समस्याका सम्बन्धमा काम गर्न केन्द्र र जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । तर अहिलेसम्म भूमिहीनले जग्गा पाएका छैनन् । जबकि आजको दिनमा देशभर कति भूमिहीन छन् संख्या समेत यकिन छैन । हाम्रो अनुमान त यो छ कि भूमिहीनमध्ये पनि सबैभन्दा ठूलो संख्या दलितहरुकै छ । मेरो जिल्ला कास्की लगायत देशभर विभिन्न झमेलाका कारण वास्तविक भुमिहिन र सुकुम्बासीले जग्गा पाउने बातावरण छैन । यस सम्बन्धमा सरकारको ध्यान जानु आवश्यक छ ।
(नेपाली कांग्रेसका सहमहामन्त्री परियारले हालै सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिमा राखेको विचारमा आधारित)