काठमाडौं । कोशी प्रदेशसभा सदस्य तथा माओवादी नेता दुर्गाप्रसाद चापागाईंले सरकार बनाउन सभामुखलाई राजीनामा गर्न लगाउने कुरा अनुचित भएको बताएका छन् ।

संसदीय गणितका कारण सरकार बनाउन जटिल अवस्था रहेको कोशीमा बहुमत पुर्‍याउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाउने भन्ने चर्चा चलिरहँदा चापागाईंले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सरकार बनाउने सम्बन्धमा सभामुखलाई राजीनामा गराउने विकल्प रहेपनि उक्त कदम उचित नहुने उनको तर्क छ । सो कदमले प्रदेशलाई थप संवैधानिक संकटतर्फ लैजाने चापागाईंले बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । तर, गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन् । कोशीमा अहिलेकै अवस्थामा नयाँ सरकार बन्नलाई सहज अवस्था छैन् । जटिल राजनीतिक समीकरणका कारण सरकार गठन गर्न मुस्किल छ ।

सभामुखलाई राजीनामा गराउँदा ४७ सांसद पुग्ने भएकाले गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गर्नुपर्ने गठबन्धन दलका शीर्ष नेताहरूले बताइरहँदा माओवादीकै सांसदहरूले भने विरोध जनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया