काठमाडौं । बझाङको वित्थडचौर–७, स्यालढुंगामा बन्दै गरेको घर भत्काएको घटना स्थानीय प्रशासनले बङ्याएको भन्दै दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन्। बन्दै गरेको घर भत्काउने गैरदलित समूहको बिषयमा स्थानीय प्रशासनले घटनालाई बङ्याउने गरी मुद्दा दायर गरेको प्रति बझाङवासी दलित अधिकारकर्मीहरुले आपत्ति प्रकट गरेका हुन्।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले कथित दलित समुदायको घर बनेकै कारण बन्दै गरेको घर भत्काइएको बिषयलाई स्थानीय प्रहरीले अभद्र व्यवहार भनी कारवाही प्रक्रिया अघि बढाएको उनीहरुको दावी छ।
दलित अधिकारकर्मी तथा संविधानसभाका सांसद अखिलाल ओखेडा, बझाङवासी धनलाल चँदरा, आरविक्रम ओखेडा, नेपाल दतिल मुक्ति संगठनका गणेश विश्वकर्मा, नेपाल दलित संगठनका श्याम सुनार, पुर्व संविधानसभा सदस्य आशा कुमारी वि.क., दीपा नेपाली, पे्रम विश्वकर्मा लगयात पत्रकार सम्मेलनमा घटनाको बिषयमा विरोध जनाए। दोषी उपर उचित कारवाही नभएमा बिरोधमा उत्रिने चेतावनी समेत दिएका छन्।
घटना विवरण अनुसार गत साउन १० गते स्थानीय पुड्के ओखडाले स्थानीय ब्राम्हण वस्ती नजिकै बन्दै गरेको पुड्के ओखडाको घर सामुहिक रुपमा भत्काएका हुन्।
कथित तल्लो जातिले आफ्नो वस्तीमा घर बनाएको भन्दै गाली गलौज गरी घर भत्काएको, उनको जमिनमा रहेको वाली–नाली नष्ट गरेको, नष्ट गरेको वाली लगेर गाईवस्तुलाई दिएको यथार्थ घटना भएकोले सोही अपराध वमोजिम कारवाही हुनु पर्ने उनीहरुको माग छ। स्थानीय श्यामकृष्ण जोशी, भवानी जोशी, कित्थे जोशी सहित ४० जनाको समूह आएर कुटपिट समेत गरी घर भत्काएका थिए।