सुर्खेत । कर्णाली प्रदेशमा आमाहरु कुपोषित हुँदा त्यसको असर बालबालिकामा देखिने गरेको छ । विज्ञहरुले आमाले नै पोषणयुक्त आहार नपाउँदा बालबालिकामा पनि त्यसको असर देखिने गरेको बताएका छन् । कर्णाली प्रदेश अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसीले आमाहरू कुपोषित हुँदा त्यसको प्रत्यक्ष असर बालबालिकामा देखिने गरेको बताए ।

‘महिला गर्भवती भएका बेला र सुत्केरी भइसकेपछि उचित खानपान र स्याहार नपाउँदा कुपोषित हुन्छिन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा बच्चालाई पर्याप्त स्तनपान गराउन सक्दिनन्, जसका कारण कुपोषण बढिरहेको छ ।’

बच्चा कुपोषित हुन नदिन किशोरावस्थादेखि नै पौष्टिक आहारमा ध्यान दिनुपर्ने डा. केसीको भनाइ छ । सन् २०२५ सम्म कुपोषणको दर शून्यमा झार्ने संघीय सरकारको लक्ष्य छ। तर कर्णालीको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन मुस्किल देखिने डा. केसीको अनुमान छ । उनकाअनुसार कर्णालीका करिब ४० देखि ५० प्रतिशत आमाहरू कुपोषणको सिकार हुने गरेका छन् ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार कर्णालीमा ५ वर्षमुनिका बालबालिकाको संख्या ३ लाख ११ हजार छ। त्यसमध्ये ३७.४ प्रतिशत बालबालिका कम तौलका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ। त्यस्तै ६० प्रतिशत बालबालिकाले जन्मेको एक घण्टाभित्र आमाको दूध पिउन पाउँदैनन्।

युनिसेफले गत वर्ष गरेको अध्ययनअनुसार ६ देखि २३ महिनाको अवधिमा कर्णालीका ३० प्रतिशत बालबालिकाले मात्रै न्यूनतम आहार पाउने गरेका छन् । निर्देशनालयको तथ्यांकअनुसार ४८ प्रतिशत बालबालिकामा कम उचाइको समस्या देखिएको छ। त्यस्तै १७.६ प्रतिशत बालबालिकामा ख्याउटेपनाको समस्या देखिएको छ ।

त्यसो त कर्णालीमा आमाको ज्यान जाने दर पनि कमजोर छैन । पौष्टिक आहारसम्बन्धी चेतना नहुँदा, गर्भावस्था र सुत्केरी अवस्थामा आमा र बच्चाको खानपानमा ध्यान नदिँदा कुपोषणले बच्चा र आमाको ज्यान गइरहेको छ ।

सामाजिक विकास मन्त्रालयले गत वर्ष गरेको किशोर–किशोरी सर्वेक्षणमा कर्णालीमा ५२ प्रतिशत किशोरी उमेर नपुग्दै विवाह गर्ने गरेको तथ्यांक छ। सानैमा बिहेसँगै जिम्मेवारीको बोझले थिचिएका कर्णालीका किशोरी र आमाहरूले पोषणयुक्त खानपिन पाउन नसकेको डा. केसीले बताए। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार चालु वर्ष सुर्खेतमा ५२, जुम्ला र सल्यानमा २१/२१, जाजरकोटमा १६, दैलेख र रुकुम पश्चिममा ११/११, कालीकोटमा ९, डोल्पामा आठ र मुगुका ३ गरी १ सय ५२ शिशुको मृत्यु भएको छ। मृत्यु भएकामध्ये अधिकांश शिशुले कुपोषणका कारण ज्यान गुमाइरहेको निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताइन्।

प्रदेश योजना आयोगले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनाअनुसार कर्णालीमा शिशु मृत्युदर २९, नवजात शिशु मृत्युदर ४७ र ५ वर्षमुनिको मृत्युदर ५८ प्रतिशत छ। आयोगका अनुसार अधिकांश बालबालिकाको कुपोषणका कारण ज्यान जाने गरेको हो। आयोगको तथ्यांकअनुसार कर्णालीमा मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २ सय ३९ जना रहेको छ। कुपोषणका कारण आमाहरूले पनि बर्सेनि ज्यान गुमाइरहेका छन्।

निर्देशनालयका अनुसार आव २०७७/७८ मा ३३, २०७८/७९ मा १४ र चालु आर्थिक वर्षमा १३ जना सुत्केरीको मृत्यु भएको छ। वीरेन्द्रनगरमा रहेको पोषण पुनःस्थापना गृहमा कुपोषित आमा र बच्चाहरू पोषण सुधारका लागि आउनेको चाप बढी छ।

उक्त गृहमा कर्णालीका सबैजसो जिल्लाका बच्चा र आमा उपचारका लागि आउने गरेको इन्चार्ज प्रभा सिंहले बताइन्। ‘हामीसँग ११ बेड मात्रै छ,’ उनले भनिन्, ‘अहिले पनि ११ जनै बच्चा आफ्ना आमासहित उपचाररत छन्।’ उनका अनुसार कुपोषित बच्चालाई उक्त गृहमा एक/डेढ महिना राखेर वृद्धि विकास गरी घर पठाइन्छ।

तपाईको प्रतिक्रिया