काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा प्रभु बैंकको खुद नाफा बढेको छ। चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ४८.५४ प्रतिशतले बढेको हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.८६ प्रतिशत थियो।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब २० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७४ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ४७.५२ प्रतिशतले बढेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। बैंकको रिजर्भको आकार ८५.३६ प्रतिशतले बढेर १० अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिमा निक्षेप संकलन ६१.८२ प्रतिशत र कर्जा लगानी ६३.८५ प्रतिशतले बढेको छ। यसले बैंकले आफ्नो व्यापार आक्रामक ढंगले अगाडि बढाएको देखिन्छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.९७ रुपैयाँ थियो। पीई रेसियो १३.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया