सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि २९ औँ आदिवासी दिवस भव्यताका साथ मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातीय आदिवासी जनजाति संगठनहरुको सहभागितामा दिवस विशेष कार्यक्रम गरेको हो । सो अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति भनेको आफ्नो परम्परा रितिरिवाज साँस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएको समुदाय भएको बताइन् ।
‘कानुनले आदिवासी जनजातिहरुलाई दिएको अधिकारलाई व्यवहारमा प्रयोग र रक्षा गर्न जरुरी छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल बनाउन सम्पूर्ण समुदाय समान अवसर र न्याय प्रत्याभुति गर्ने राज्यको निति रहेकोले आदिवासी जनजातिको सामाजिक आर्थिक र साँस्कृतिक पक्षको विकास गरि राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा पहुँच र प्रतिनिधित्व सुनिश्चित हुँदै जाने विश्वास लिएको छु,’ उनले भनिन् ।