काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे । उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
“यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ”, डा अधिकारीले भने । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भीडभाडमा हुने ठाउँ/सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।
डा अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ ।
आँखा पाक्ने रोगका लक्षण र उपचार
धुवाँ–धुलोलगायत प्रदूषणको असरले आँखालाई प्रभाव पार्छ । आँखा पाक्ने रोग र आँखाको एलर्जी झट्ट हेर्दा उस्तै–उस्तै देखिन्छ । तर, अघिल्लो वर्ष यही मौसममा आँखा चिलाउने समस्या आएका व्यक्तिमा अर्कोे वर्ष पनि उस्तै समस्या दोहोरियो भने आँखा पाक्ने रोग लाग्न सक्छ । आँखा पाक्ने रोगका लक्षण र रोकथाम यस्ता छन् :
- सामान्य देखिएको आँखा अकस्मात् रातो देखिएमा आँखामा केही समस्या छ भन्ने बुझ्नुपर्छ । एक्कासि आँखा रातो हुनु भनेको आँखा पाक्ने लक्षण हुन सक्छ । यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ जानुपर्छ ।
- आँखाको डिल सुनिएर हेर्न समस्या भयो भने आँखा पाकेको हुन सक्छ । यस्तो हुन नदिन आँखाको सरसफाइमा अत्यधिक ध्यान दिनुपर्छ ।
- आँखा पाकेको वेला आँखाबाट पानी बगिरहन सक्छ । साथै, कहिलेकाहीँ रगतजस्तो पानी पनि निस्कन सक्छ । यस्तो वेला नडराईकन संयम अपनाउनुपर्छ ।
- आँखा पाक्ने रोग सरुवा भएकाले अरूलाई सर्न नदिन बिरामी तथा आफन्तले पनि विशेष सजगता अपनाउनुपर्छ । घरबाहिर हिँड्दा चस्माको प्रयोग अनिवार्य गर्नुपर्छ, बिरामीले प्रयोग गरेको रुमाल अन्यले प्रयोग गर्नुहुँदैन ।
- बिरामीको नजिकै बसेर कुरा गर्दा हावाको माध्यमबाट रोग सर्ने भएकाले विशेष ध्यान दिनुपर्छ । सकेसम्म बिरामीको नजिक बसेर कुराकानी गर्नुहुँदैन ।
- आँखा पाक्ने समस्या हुने बिरामीले पानी प्रशस्त पिउनुपर्छ । सीधै घाममा हेर्नुहुँदैन । गर्मी मौसममा सीधै घाममा हेर्दा पनि आँखा पाक्ने समस्या आउन सक्छ ।
- कम्तीमा दिनको चारपटक हात, मुख र आँखा सफा गर्नुपर्छ । घरको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या भए सबै परिवारले संयम अपनाउनुपर्छ ।