काठमाडौं । प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरले आफूलाई बोल्न नदिएको गुनासो गरेकी छन्।
बुधबार काठमाडौँमा २९औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप’ ‘चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको धारणा राखिन्। उनले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ? भन्दै प्रश्न पनि गरिन्।
‘आज प्रतिनिधि सभामा हेर्नुहोस् लाइभ कति जना महिलाहरुले बोल्नुहुन्छ? साँच्चै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई। त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर? नियमवलीमा कहाँ लेखेको छ, उप चुप भनेर। परिसरमा पो मैले बोल्न मिल्दैन त! बाहिर विचार राख्न किन मिल्दैन मैले? कि म पनि मगर, मतवालीको छोरी भएर हो की? यो मेरो प्रश्न छ।’
उप–सभामुख रानाले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो कि भनेर संशय प्रकट गरिन्। साथै उनले महिलाको आदर नभएको गुनासो मात्रै गरिनन् देशमा सुशासन भन्दा कुशासन बढी भएको दाबी गरिन्।
उनले भनिन्, ‘शुसासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो की कुशासन हो? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो की म। जो महिला एउटा बच्चा जन्माएर त्यसलाई असल नागरिक बनाउन सक्षम श्रृजना गर्छिन त्यो महिलाको यहाँ आदर हुँदैन भने यहाँ कहाँ लोकतन्त्र छ?’, उनले कृषि क्षेत्रमा युवाहरुलाई समेट्न नसकेकै कारण युवा पलायन बढेको पनि धारणा राखिन्।
‘कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ। अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन्?,’ रानाले भनिन्।