काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्र लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ परेको खुलेको छ। शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विहिबार पक्राउ गरेको हो। शर्मा उनकै निवास मण्डिखाटारबाट पक्राउ परेका थिए।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । नक्कली शैक्षिक प्रमाणपत्र लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। उनी मोरङ-३ बाट निर्वाचित सांसद हुन्। उनी मेडिकल कलेज सञ्चालक हुन्। उनले काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन्।
सांसद शर्माको विगत पनि विवादले घेरिएको छ। विगतमा उनी माथि कर छली गरेको आरोप समेत लागेको थियो। उनको लगानी रहेको नोबेल मेडिकल कलेजले राजस्व छल्न आफ्नो सम्पत्तिको मूल्य घटाएको, भौतिक संरचना निर्माण गर्न बैंकबाट लिएको ऋण अन्यत्रै लगानी गरेको, राजस्व चुहावट गर्ने उद्देश्यले समयसीमा नघाएर कर बुझाउने गरेको राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा देखिएको थियो। विभागले शर्मा माथि कर छलीको आरोपमा २०७२ मा अनुसन्धान गरेको थियो।
शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको भन्दै २०७३ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। सिआईबीले नेपाल मेडिकल काउन्सिलबाट नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शर्माले चिकित्सकीय अभ्यास गरिरहेको प्रमाण जुटाएको थियो। सिआईबीले पक्राउ गर्ने सुइँको पाएपछि उनी जापान उडेका थिए। त्यो बेला प्रहरीको नेतृत्वमा हानथाप चलेको थियो। सोही कारण शर्मा माथिको अनुसन्धान अघि बढेको थिएन।