काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहरा हटाउनका लागि काठमाडौं महानगरले पुन नापजाँच गर्ने भएको छ।
अतिक्रमण गरेर बनेका घर टहरा भत्काउन गएका महानगरको टोली र स्थानीयबीच विवाद भएपछि बूढानीलकण्ठ नगरपालिकाको समन्वयनमा पुन नापजाँच गर्न महानगर सहमत भएको हो।
विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच छलफल भएको थियो।
छलफलपछि सो क्षेत्रमा पुन नापजाँच गरेर थप काम अघि बढाउने सहमति भएको काठमाडौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
कपनमा खहरे खोला अतिक्रमण गर्दा बर्षामा बाढि आउने गरेको र निकै धनजनको समेत क्षति पुगेको भन्दै बिहानै महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो।
महानगरेको टोली आएपछि स्थानीयहरुले विरोध गर्दै नारावाजी गरेका थिए। केहि स्थानीयहरुले भने बर्षेनि हुने डुवानलाई रोक्न खहरे खोलालाई निर्वाध रुपमा बग्न दिनुपर्ने बताएका थिए।