काठमाडौँ । बैतडीकी सरस्वती नेपालीले यस वर्षको जातिभेदविरुद्वको ग्लोबल अवार्ड पाएकी छिन् । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले जातीय भेदभाव र दलित तथा सीमान्तकृत समुदायको अधिकारकोलागि वकालत गर्दै आएकी नेपालीलाई ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ प्रदान गरेको हो ।

दलित समाज विकास मञ्चको अध्यक्ष रहेकी नेपाली विगत २० वर्षभन्दा लामो समयदेखि सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी छिन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपालीको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । उनले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जितेकी छिन् । दूतावासले सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण रहेको छ ।

को हुन् सरस्वती नेपाली ?

बैतडीको दशरथचन्द नगरपालिकामा सामान्य दलित परिवारमा जन्मिएकी सरस्वती नेपालीको सामाजिक न्यायको क्षेत्रमा यहाँसम्मको यात्रा भने त्यति सुखद छैन । कलिलो उमेरमै उनले बुवा गुमाइन्, उनको विद्यालय शिक्षा आमाको ज्याला-मजदुरीमा निर्भर भयो ।

आमाको साथमा उनको सामाजिक जीवन त्यति धेरै स्मरणयोग्य छैन । घरभित्र अभिभावकको अभाव खेपेकी उनले घरबाहिर निस्किँदा उनले सामाजिक विभेद पनि भोगिरहिन् । घर-गाउँमा होइन, विद्यालयमा समेत सबैले पानी पिउने धारामा पानी खान पाउँदैन थिइन् ।

घरबाहिर निस्किने वित्तिकै विभेद र अपमानको पहाड बोक्नुपर्ने बाध्यता थियो त्योबेला ।
‘विद्यालयमा पानी छुट्टै थापेर खानुपथ्र्यो । मलाई अपमान भएको महसुस भइरहन्थ्यो । त्यसकारण म घरमै आएर पानी पिउँथें,’ उनले भनिन् ।

मन्दिर प्रवेशको आन्दोलन

बैतडीमा दलितमाथि हुने विभेद सँगसँगै हलिया प्रथा र सिनो प्रथाको आन्दोलन चर्किदै थियो । उनीहरूलाई मन्दिर प्रवेशमा पनि रोक लगाइएको थियो । नेपाल सरकारले सार्वजनिक क्षेत्रमा सबैलाई खुल्ला भनेर घोषणा गरेको थियो । तर, उनीहरूलाई प्रवेशमा रोक थियो । भगवान् हरेकका लागि समान हुन् किन प्रवेश नगर्ने भन्ने अभियानका साथ उनी सामाजिक आन्दोलनमा होमिइन् ।

स्थानीय जगन्नाथ मन्दिरमा मन्दिर प्रवेशका क्रममा उनले विद्रोह गरिन् । त्यसताका झडप पनि भयो । एउटा मन्दिर खुल्ला गरे पनि थुप्रै मन्दिर खुल्ला गर्नु थियो उनीहरूलाई । बिस्तारै विभेदविरुद्ध सचेतना जगाउँदै थुपै्र मन्दिर सबैका लागि खुल्ला हुन थाले । थुपै्रै आन्दोलन र चेतनापछि भने मन्दिर सबैका लागि खुल्ला भए । झडपका क्रममा अस्पताल बस्नुपर्ने अवस्थाभन्दा पनि उनी परिवर्तनले खुसी थिइन् ।

शरीरमा लागेको चोटपटकको पीडाभन्दा पनि समाजमा रहेको छुवाछूतको पीडा उनका लागि महत्वपूर्ण थियो । उनले भनिन्, ‘आन्दोलनका कारणले नै परिवर्तन सम्भव भयो, अन्य मानिसजस्तै हामी पनि मन्दिर प्रवेश गर्न पाउने भएका थियौं ।’

काठमाडौं आउन संघर्ष

कलेजको पढाइसँगै उनले सामाजिक आन्दोलनलाई पनि बढाउँदै लगिन् । सामाजिक काममा सक्रिय उनीसहित दुई साथी काठमाडौंको एउटा कार्यक्रमका लागि आउने निधो भयो । छोरीमान्छे बाहिर जान हुँदैन भनेर उनीहरूलाई रोक्ने प्रयास गरियो ।

काठमाडौं जाँदा उनीहरू जान्ने–बुझ्ने हुन्छन्, समाजमा प्रश्न गर्न सक्ने र आफ्ना अधिकारका कुरा गर्न थाल्छन् भन्दै रोक लगाउने प्रयास गरिएको थियो । उनीहरूलाई धर्म परिवर्तनका लागि काठमाडौं जान लागेको आरोप पनि लाग्यो ।

उनी भन्छिन्, ‘महिलाहरू जान्ने हुन्छन् भनेर काठमाडौं आउन नदिन निकै प्रयास भयो । हामीमाथि थुप्रै लाञ्छना पनि लगाइए तर हामीले निकै साहस र संघर्ष गरेर काठमाडौं पुग्यौं ।’

महिला बढी पीडित

०६२–६३ को जनआन्दोलनमा पनि उनले खुलेर आवाज उठाइरहिन् । घरमा नभनी लुकीलुकी उनी आन्दोलमा जाने गर्थिन् । त्यतिबेला महिलाका मुद्दाहरू बोकेर हिँड्नेहरू कमै थिए । आफूमा भएको विभेद हटाउन उनी सामाजिक रूपमा संगठित हुँदै आन्दोलन गर्न थालिन् ।

उनका अगाडि चुनौतीका चाङ थिए । सदियौंदेखि चलिआएको परम्परा उनले तोड्नु थियो । समाजका विकृतिलाई हटाउँदै असल र सभ्य समाज उनले बनाउनु थियो । जातीय रूपमा होस् वा अन्य कुनै कारणले महिलामाथि बढी विभेद भएको उनले पाइन् ।

महिलाका लागि थुप्रै कानुन र नीति बने पनि विभेद अझै हट्न नसकेको उनले बताइन् । बालिकामाथिको बलात्कारदेखि महिलामाथिको हिंसा अझै हट्न नसकेको उनको भनाइ छ । उनले थुप्रै महिला आन्दोलनमा पनि आवाज उठाइन् ।

बालिकामाथिका बलात्कारका घटनालाई पनि पुनरुत्थान गर्नका लागि उनी सधैं अग्रसर भइरहिन् । थुप्रै चुनौती र धम्की सहँदै धेरै बालबालिकाको न्यायका लागि उनले आवाज उठाइन् । उनी भन्छिन्, ‘बालिकामाथिका घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउनु र पीडितलाई पुनरुत्थान गर्नका लागि निकै चुनौती छ ।’

पुरस्कारले बदलिदियो दैनिकी

सुदूरपश्चिमका हरेक ठाउँमा सामाजिक, सांस्कृतिक एवं लैगिंक विभेदका विरुद्ध आवाज उठाइरहिन् । महिला, बालबालिकादेखि सीमान्तकृत समुदायका लागि उनको आवाज सधै खरो हुन्थ्यो । उनलाई लाग्थ्यो–आवाजबिहीनहरूको आवाज बनेर अगाडि बढ्नुपर्छ । गाउँमा बसेर काम गरिरहेकी उनलाई एकदिन फोन आयो, ‘तपाईंलाई हामीले दर्नाल अवार्डमा छनोट गरेका छौै ।’

राशि थियो पाँच लाख रुपैंयाँ । यो उनका लागि खुसीको कुरा थियो । थुप्रै चुनौती झेल्दै अघि बढिरहेकी उनका लागि सबैभन्दा ठूलो पुुरस्कार थियो । पुुरस्कारले उनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाइदियो ।

उनको कामको सबैले प्रशंसा गर्न थाले । समाजसेवी हालकी उप–सभामुख इन्दिरा राना मगरको हातबाट उनले ग्रहण गरिन् । उनले भनिन्, ‘देशको एउटा कुनामा बसेर काम गरिरहेकी मलाई पुरस्कारले कामको कदर भएको महसुस भयो ।’

उपमेयरको यात्रा र राजनीति

विभेदविरुद्धको आन्दोलमा आवाज उठाइरहँदा उनलाई लाग्यो अभियानमा मात्र होइन, अब राजनीतिमा पनि आउनुपर्छ । नीतिगत रूपमा अगाडि बढेमा हरेक प्रकारका विभेद अन्त्य हुन्छन् । नीतिको मूल थलो नै राजनीति भएको तथ्य उनलाई महसुस भयो ।

त्यसपछि उनले उपमेयरको यात्रा तय गरिन् । दशरथचन्द नगरपालिकामा नेकपा एमालेको तर्फबाट दुईपटक उपमेयरको टिकट पाए पनि विजय भने हुन सकिनन् । हाल उनले थुप्रै कमिटीमा बसेर काम गरिरहेकी छन् ।

तपाईको प्रतिक्रिया