काठमाडौं ।  नेपाली कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले ह्याकाथनका लागि युवाहरूबाट आवेदन माग गरेको हो ।

ह्याकाथनमा १८ देखि ४० वर्ष उमेर समूहका ३ देखि ५ जना युवाहरूले समूह बनाएर भाग लिन पाउनेछन् । कांग्रेस सहमहामन्त्री जीवन परियारले युवालाई पार्टी र नीति निर्माणमा जोड्न ह्याकाथन कार्यक्रमको आयोजना गरिएको बताए ।

‘देशको कुल जनसंख्यामध्ये ४२ प्रतिशत युवा छन् । तर युवा र देशको नीति निर्माणको बीचमा खाडल बढेको बढ्यै छ,’ उनले भने, ‘हामीले त्यही खाडललाई पुर्न पोलिसी ह्याकाथनको आयोजना गरेका छौँ ।’ उनका अनुसार ह्याकाथनमा भाग लिनेहरूले गिग इकोनोमी वा क्लाइमेट एक्सनमध्ये एक विषयमा नीतिपत्र तयार गरी सो नीतिपत्रसहित भदौ ३ गतेभित्र आवेदन दिनुपर्नेछ । हरेक नीतिपत्र कम्तीमा ३ हजार शब्ददेखि ५ हजार शब्दसम्मको हुनुपर्ने कांग्रेसले जनाएको छ ।

त्यसरी प्राप्त आवेदनमध्येबाट उत्कृष्ट १० वटा नीतिपत्रहरू फाइनलका लागि छनौट हुनेछन् । ‘छनोट भएका १० वटा समूहलाई हामीले मेन्टर उपलब्ध गराउँछौँ । उनीहरूले मेन्टरको सहायतामा सो नीतिपत्रलाई थप सिर्जनात्मक र व्यवस्थित बनाउनेछन्,’ सहमहामन्त्री परियारले भने, ‘त्यसपछि निर्णायकहरूबाट उत्कृष्ट नीतिपत्रको छनौट हुनेछ ।’

ह्याकाथनमा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै, फस्ट रनर अपलाई एक लाख र सेकेन्ड रनरअपलाई ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया