तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-१ डाँडागाउँमा १३ दिनदेखि बेपत्ता रहेकी महिलाको शव शनिबार सुँगुरको खोरमा गाडेको अवस्थामा फेला परेको छ । शंकास्पद घटनामा संलग्नताको आशंकासहित प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव उनकै पसल पछाडिको सुँगुरको खोरमा गाडेको अवस्थामा भेटिएको हो । रेशिकाले ५ वर्षयता श्रीमान राजकुमार श्रेष्ठसँगै श्रीकृष्ण मावि डाँडागाउँको क्यान्टिन संचालन गर्दै आएकी थिइन् ।
क्यान्टिनमा खाजा र किराना पसल संचालन गर्दै आएकी श्रेष्ठ एकाएक पसलबाटै हराएको भन्दै श्रीमान राजकुमारले केही दिनअघि सक्रान्तिबजारस्थित इलाका प्रहरी कार्यालय जाहेरी दिएका थिए ।
उनको जाहेरीपछि प्रहरीले दमन्तालाई खोजिरहेको थियो । तर प्रहरीले खोजी गरिरहेकै समयमा गत साउन २४ गते बिहानैदेखि श्रीमान राजकुमार पनि सम्पर्कविहीन भए । प्रहरी, स्थानीय र माइती पक्षले शनिबार खोजी कार्य तीव्र बनाउँदा उनको शव खोरभित्र गाडेको अवस्थामा फेला परेको हो ।
श्रेष्ठको शव उनकै पसल पछाडि रहेको सुँगुरको खोरमा प्लाष्टिकमा बेरेर गाडेको अवस्थामा फेला परेको हो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक छेफिन्जो भोटेको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको छ ।
घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानमाथि शंका उब्जिएको भन्दै प्रहरीले राजकुमारमाथि अनुसन्धान सुरु गरेको छ । श्रेष्ठ दम्पतीबीच समय समयमा झगडा भइरहने गरेको स्थानीयहरूले बताएका छन् ।
श्रेष्ठ दम्पतीले १० वर्षको कागज गरेर १ लाख रुपैयाँ बन्धकी राखेर नजिकै रहेको श्रीकृष्ण माविको क्यान्टिन संचालन गर्दै आएको सोही विद्यालयका शिक्षक उमानाथ भण्डारीले बताए । उक्त क्यान्टिन पनि राजकुमारले केही दिनअघि मात्रै बिक्री गरेका थिए ।
श्रीमतीको शव फेला परेपछि तीन दिनदेखि सम्पर्कविहीन रहेका श्रीमान् राजकुमार पनि पक्राउ परेका छन् । उनलाई शनिबार अपरान्ह ४ बजे झापाको काँकडभिट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीकाअनुसार राजकुमारले नै श्रीमतीको हत्या गरी भागेको हुनसक्ने प्रारम्भिक अनुमान लगाइएको छ । श्रेष्ठ दम्पतीका ७ वर्षीया एक छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।