तेह्रथुम । लालिगुराँस नगरपालिकाले करिब सय जना करार र दैनिक ज्यालादारीका कर्मचारी हटाएको छ । नगरपालिकाले विभिन्न मितिमा नियुक्त गरेका शिक्षक, श्रेणी विहीन र प्राविधिक कर्मचारी, स्वास्थ्यकर्मी लगायतकालाई गत साउन १ गतेदेखि लागु हुने गरी म्याद नथप्ने निर्णय गरेको हो ।
यसमा दैनिक ज्यालादारीमा कार्यरत र शिक्षकको संख्या बढी छ । नगरपालिकाले दैनिक डोर हाजिरीमा ५० जना बढी विभिन्न तहमा कर्मचारी नियुक्त गरी खटाउँदै आएको थियो । अनावश्यक संख्यामा रहेका करार र ज्यालादारीका कर्मचारीलाई म्याद नथप्ने निर्णय गरिएको नगर प्रमुख अर्जुन मावोहाङले वताए । आउँदो कार्यपालिका बैठकले यो निर्णय अनुमोदन गर्ने मेयर मावोहाङको भनाइ छ ।
२०७४ को चुनावमा नगर प्रमुखको रुपमा मावोहाङ निर्वाचित भए पछि यति धेरै संख्यामा कर्मचारी नियुक्ती गरेका थिए । कार्यकर्ता र पार्टी निकटकालाई जागिर खुवाएको भन्दै नगर प्रमुख मावोहाङको नेकपा एमाले लगायतका विपक्षी दलले आलोचना गर्दै आएका थिए ।
केन्द्र सरकारले पठाउँदै आएको बजेटमा कटौती भएको र नगरको आन्तरिक श्रोत समेत न्युन रहेकाले तलब खुवाउनै नसक्ने अवस्था आएकाले म्याद नथप्ने निर्णय गरिएको उनको भनाइ छ ।
नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि भन्दै ३३ जनालाई नगर शिक्षकको रुपमा नियुक्त गरेको थियो । यि शिक्षकबाट समेत अपेक्षित रुपमा शिक्षाको गुणस्तरमा सुधार नभए पछि नगरपालिका म्याद नपप्ने निष्कर्षमा पुगेको हो ।
कर्मचारी अभाव टार्न भन्दै न्यून स्रोतमा नगरपालिकाले दैनिक डोर हाजिरीमा कर्मचारीहरु काममा खटाएको थियो । स्वास्थ्य, पशु र कृषि क्षेत्रमा समेत करार र दैनिक ज्यालादारीमा कर्मचारी काममा खटाइएको थियो । थोरै जनशक्तिकै भरमा पनि गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने अनुभव आफूहरुलाई भएको जनप्रतिनिधिको बुझाइ छ ।