काठमाडौं ।  सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा छ । जनमतबाट अनितादेवी साह मन्त्री बन्दैछिन् ।

उनी यसअघि जनमत पार्टीबाट जनकपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन् । मेयरमा पराजित भएकी उनी समानुपातिकबाट संघीय सांसद बनेर मन्त्री बन्न लागेकी हुन् ।

खानेपानी मन्त्रालयमा चित्त नबुझेर गत १७ चैतमा पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर बाहिरिएको जनमत पार्टी जुनसुकै मन्त्रालय दिए पनि फेरि सरकारमा जान सहमत भएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टी सम्भवतः आइतबार प्रचण्डको सरकारमा सहभागी हुने भएको हो। जनमत पार्टी सरकारमा जाने भए पनि यो समाचार लेख्दासम्म मन्त्रालयको टुंगो भने लागिसकेको छैन।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरे पनि नदिइएपछि चैतमा बाहिरिएको थियो। जनमतबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले १७ चैतमा राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया