काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

मृत्युदण्डको कानुनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएका हुन् ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले आज पनि नेपाल र भारत जातीय विभेदले पीडित हुनु परेकोमा आपत्ति जनाउँदै त्यसको अन्त्य अब पीडकलाई सम्झाएर, बुझाएर नहुने जिकिर गरे ।

उनले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रुपमा लिए पनि त्यस अनुसारको कानुन नबन्दा त्यसबाट हुने उत्पीडन कायमै रहेको तर्कसमेत गरे । आफूले सुरुदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्न विद्रोह गर्नेहरुलाई कठोर जरिवाना गर्ने, दबाउने काम पनि संविधान अनुसारको कानुनी व्यवस्था नभएकै कारण हुन गएको पनि स्पष्ट पारे ।

सांसद गौतमले जातीय विभेद गर्नेहरुको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई तत्काल राहत दिने व्यवस्था गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराए । उनले जातीय विभेद अन्त्यका लागि संसद् र संसदीय समितिले दिएको निर्देशनहरुको पूर्णपालना गर्न पनि सरकारलाई दबाब दिए ।

तपाईको प्रतिक्रिया