काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार(आज) बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।

मोर्चाले भदौं ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा सभा गर्ने भएको छ। त्यस्तै, भदौं १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए।

‘हामीले भदौं ८ गते देखि प्रदेश स्तरको घोषण सभा गर्ने निर्णय गरेका छौं। साथसाथै भ्रष्टचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेका छौं,’ विप्लवले भने। सभामा मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा उनीहरूले उसलाई सन्देशसभा नाम दिएको बताइएको छ।

मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकार अझ दृढताका साथ उभिनुपर्ने निष्कर्ष निकालेको छ।

असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्।

 

तपाईको प्रतिक्रिया