तेह्रथुम । आठराई गाउँपालिकाले आफ्ना नागरिकलाई ल्याब र भिडियो एक्स-रे सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाअन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिबजारबाट गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवासँगै ल्याब र भिडियो एक्स-रे सेवा समेत नि:शुल्क प्रदान गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले गाउँपालिका क्षेत्रका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँपालिकाले यस्तो निर्णय लिएको बताए । ‘कम्तिमा आधारभूत स्वास्थ्य सेवा गाउँमै हुनुपर्छ भन्ने मान्यताले प्राथमिक स्वास्थ्य केन्द्रको सेवालाई विस्तार गरेका छौँ,’ गाउँपालिका अध्यक्ष पाहिमले भने, ‘हाललाई प्राथमिक स्वास्थ्य केन्द्रको नियमित सेवासँगै नि:शुल्क ल्याव सेवा, भिडियो एक्स-रे, एक्स-रे लगायत सेवा नि:शुल्क उपलब्ध गराउने निर्णय लिएका छौँ ।’
उनले प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबारदेखि यी सेवा निशुल्क उपलब्ध गराइने बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सैँ घण्टा इमरजेन्सी सेवासहित स्वास्थ्य परीक्षण र सरकारले निशुल्क उपलब्ध गराएका औषधीहरु नि:शुल्क उपलब्ध हुने व्यवस्था छ । गाउँपालिकाले सुगर, प्रेसरसहित कतिपय रोगका औषधीहरुसमेत निशुल्क उपलब्ध गराउँदै आएको छ । गाउँपालिका अध्यक्ष पाहिमले हाडजोर्नी सम्बन्धिको एक्स-रे समेत चाँडै सुरु हुने बताए ।
‘सामान्य स्वास्थ्य समस्या आउने वित्तिकै झापा वा सुविधासम्पन्न अस्पताल पुर्याईहाल्नुपर्ने अवस्थाको अन्त्य गर्ने योजना बनाएका छौँ । कम्तिमा रोगको पहिचान र प्राथमिक उपचार गाउँमै होस् भन्ने ध्येय राखेका छौँ,’ उनले भने । गाउँपालिकाले सुत्केरी महिलाका लागि तथा इमर्जेन्स दुर्घटनाका बिरामीहरुका लागि विगत एक वर्ष देखि निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरिरहेको छ ।