प्रकाश पाक्साँवा,

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ ।

बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा तीन वटा स्थानीय सरकारको सहकार्यमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने भएको हो । पार्क निर्माणकालागि संघीय सरकारको शहरी विकास मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

हाल तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित कांग्रेस नेता सीता गुरुङ शहरी विकासमन्त्री छिन् । मन्त्री गुरुङको प्रत्यक्ष चासो र सरोकारमा लालीगुराँस पार्क निर्माणकालागि बजेट विनियोजन भएको र पार्क निर्माणको काम समेत अघि बढाउने तयारी रहेको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताए ।

संघीय सरकारबाट बजेट विनियोजन भएपछि यहाँका स्थानीय सरकारहरुले समेत प्रत्यक्ष चासो लिएर काम अघि बढाएका छन् । पार्क निर्माणकालागि स्थानीय जनप्रतिनिधि र सामुदायिक बनका उपभोक्ताले बन क्षेत्रको अवलोकन र अध्ययन समेत गरिसकेका छन् ।

मेयर माबोहाङकाअनुसार पार्कमा गुराँसको ढुवानी,रोपण तथा यस क्षेत्रमा रहेको पोखरी संरक्षणका साथै लालीगुराँस सम्बन्धी गोष्ठी सन्चालन गर्ने लगायत कार्यक्रमहरु तय भएको छ। पार्क क्षेत्रमा पुर्वाधार विकासका कामहरु शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ शहर आयोजना मार्फत हुनेछ ।

पार्कमा तिनजुरे, मिल्के,जलजले क्षेत्रबाट २८ प्रजातिका गुराँस ल्याएर पार्क क्षेत्रमा रोपिनेछ ।

चैतै सामुदायिक बन, तिनजुरे रातपोखरी समुदायिक वन र तिनेजुरे सामुदायिक वन क्षेत्र भित्र २ हेक्टर क्षेत्रफलमा पार्क निमार्ण हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया