काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले उच्चस्तरीय छानविन आयोग बनाउने सहमतिका पछिल्तिर छुपेको विषयमा आशंका पैदा भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बजगाँईले सरकार र प्रतिपक्षले सहमतिको विन्दु खोजेको विषय सकारात्मक भएपनि त्यसकापछिको कारणले आशंका पैदा गरेको बताए ।

‘संसद्मा प्रतिपक्षीले यतिञ्जेल अवरोध खडा गर्‍यो । तर अहिले आएर सहमति भएको छ, यो पनि खुसीकै कुरा हो,’ उनले भने, ‘तर यो सहमतिको पछाडि के छ ? सरकारले उच्चस्तरीय छानविन आयोग गठन भयो भनेर मान्ने, संसद् सञ्चालन हुने, तर एउटा सुन तस्करीको विषय सामसुम पार्दा अर्को कुन काण्ड सामसुम पार्ने सहमति भएको हो ? यो आशंका गर्न मिल्ने गरी छ ।’

उनले सरकार र प्रतिपक्षबीचको सहमतिको कुराले पछिल्लो समय चर्चामा रहेका कुनै पनि काण्डहरु हराउन नहुने बताए । ‘दलीय सम्झौताले ललिता निवासदेखि सुन तस्करी होस् वा गिरिबन्धु टि-स्टेटकै विषय किन नहोस्, लेनदेन नहोस्,’ उनले भने, ‘सहमतिले त्यस्तो रुप धारणा नगरोस् ।’

तपाईको प्रतिक्रिया