काठमाडौं । गौरा पर्व, बिहीबार काठमाडौंको खुलामन्च गौरामय देखियो । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम र कर्णाली आधारभूमि रहेका काठमाडौंबासीहरुले मात्रै होइन, सुदूरपश्चिममा जन्मिएका नेताहरुले समेत जमेरै गौरामा झुमे ।
गौराको अर्को विशेष पहिचान भनेको देउडा गीत र नृत्य हो । हरेक वर्ष गौरा पर्वको सन्दर्भमा काठमाडौंको खुलामन्च देउडामा रमाउँछ ।
बिहीबार खुलामन्चमा सुदूरपश्चिम जन्मघर भएका नेताहरु शेरबहादुर देउवा, भीम रावल, एनपी सावद, रमेश लेखक लगायत नेताहरु देउडामा रमाए, प्रधानमन्त्री पुष्पकमल दाहाल पनि मिसिए ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वकारुपमा घोषणा गर्ने बताए ।
‘गौरा पर्व राष्ट्रिय महत्वकै पर्व हो । तपाइहरुको मागबमोजिम सरकार यो पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्न तयार छ । साथै, सार्वजनिक विदा दिने विषयमा समेत छलफल हुन्छ,’ उनले भने ।