काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीहरू चारैतिरबाट मारमा पर्दा सरकार मुकदर्शक बनेको बताएका छन् । उनले व्यवसायीहरू अहिले मर्नू न बाँच्नुको अवस्थामा पुगेको बताए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद नेपालीले व्यवसायीलाई अनेकथरी बाहनामा कर थोपर्ने सरकारले व्यवसायीलाई सुविधा दिने विषयमा समेत गम्भीर हुनुपर्ने बताए ।
‘देशभरि सडकको अवस्था राम्रो छैन । एकातिर बाढी पहिरोले सडक क्षत्विक्षत् बनाएको छ भने अर्कोतिर ठेक्का लागेपनि निर्माण व्यवसायीले समयमा काम नगर्दा सडक अलपत्र बनेका छन् । आज यातायात व्यवसायीहरु मर्नू न बाँच्नुको अवस्थामा पुगेका छन्, सडकको कारणले,’ सांसद नेपालीले अघि भने, ‘विकासको नाममा बेथिति मौलाएर सडक निर्माणको काम समयमा नहुँदा नारायणघाट-बुटवल र मुग्लिनदेखि पोखराको सडकको स्थिति बेहाल बनेको छ, त्यहीमाथि पेट्रोलियम पदार्थको मुल्यवृद्धिले यातायात व्यवसायीलाई सकस परेको छ ।’
उनले अघि प्रश्न गर्दै भने, ‘के यातायात व्यवसायीलाई मल्हम लगाउने काम सरकारको होइन र ? अनेकथरी नाममा कर लिने सरकारले करदाताको व्यवसायप्रति अलिकति पनि चिन्तित हुनुपर्छ कि पर्दैन ?’
सांसद नेपालीले सुकुम्बासी र भूमिहीन किसानको समस्यामा सरकार गम्भीर नभएको भन्दै प्रश्न उठाए ।
‘देशभरि रहेका सुकुम्बासीको पीडामा मल्हम कहिले लगाउने सरकार ? वर्षौदेखि भूमिहीनले जमीनको अधिकार पाएका छैनन् । विभिन्न समयमा बनेका आयोगले सुकुम्बासीलाई जग्गा होइन, भुमाफियाको प्रभावमा काम गरेका छन्् । पैसा र पहुँचवालाले मात्रै जग्गा हत्याउने भइरहेको छ,’ उनले भने ।
उनले सरकारले वर्षौदेखि जग्गाको भोगचलन गर्दै कर तिर्दै आएका मजदुर, किसान र दलितहरूले समेत जग्गाको लालपूर्जा पाउन नसकिरहेको तितो यथार्थ सुनाए ।