काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सरकारले काठमाडौंमा सरकारी आवासको प्रवन्ध गरेको छ । ललितपुरको भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास गृहको निर्माण कार्य सम्पन्न भएको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आएका बेला बस्नका लागि सरकारले ७५ करोड रुपैयाँभन्दा बढीको लगानीमा ललितपुरको भैँसेपाटीमा सुविधा सम्पन्न आवास गृह बनाएको हो । २७ रोपनी १२ आनामा निर्माण गरिएका ७ वटा भवनमा १४ वटा ब्लक छन् ।
जसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । प्रत्येक ब्लकमा रहेका दुईवटा इकाई प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि हुनेछ । सबै भवन तीन तलाका छन् । जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ ।
शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौंमा मुख्यमन्त्री र प्रदेशप्रमुखहरुकालागि आवास र सम्पर्क कार्यालय भवन निर्माण गरिएको बताइन् । ‘संघको सरकारसँग प्रदेशको सरकारले समन्वय गरेर गर्ने कतिपय कामहरु छन् । यो आवासमात्रै होइन, सम्पर्क कार्यालयसमेत हो । जसले गर्दा अन्तरसरकारी समन्वय र कार्यसम्पादनकालागि सहज हुन्छ भन्ने अपेक्षा हो,’ उनले भनिन् ।
यसअघि प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा केन्द्र सरकारले अपार्टमेन्टमा मासिक झण्डै ९ लाख रुपैयाँ तिरेर राख्दै आएको थियो । सरकारले साउन यता भने त्यो सुविधा कटौती गरेको छ ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि मात्र होइन, भैँसेपाटीमै संघीय सरकारका मन्त्रीहरुका लागि पनि नयाँ आवासगृह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कात्तिकसम्म काम सक्ने लक्ष्य रहेको यस ठाउँमा मन्त्री, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा भवन रहने छन् । ९६ रोपनी क्षेत्रफलमा रहने मन्त्री क्वाटरमा कम्युनिटी हलदेखि जिम हल र स्विमिङ पुलसम्म हुनेछन् । अहिले मन्त्रीहरू बस्दै आएको पुल्चोकमा भने कात्तिकपछि न्यायाधीशहरुको आवास गृह रहनेछ ।