काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुकालागि संघीय राजधानी काठमाडौंमा आवासीय सम्पर्क कार्यालय बनेका छन् ।
शहरी विकास मन्त्रालयले ललितपुरको भैँसेपाटीमा तयार पारेका भवन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गरेका छन् । अब काठमाडौं आउँदा भाडाका अपार्टमेन्टमा बस्दै आएका प्रदेश प्रमुख र मुख्यमन्त्रीले सुविधासम्पन्न सरकारी आवास सुविधा पाएका छन् ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख आयोजना निर्देशक मचाकाजी महर्जनले सोमबारबाट मुख्यमन्त्री र प्रदेश प्रमुखहरु सरकारी आवासमा सर्ने बताए । अहिले उनीहरुको बासस्थानको व्यवस्थापन संघीय सरकारले गर्दै आएको थियो ।
भवन बनाएर मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएकाले अब बासस्थानको व्यवस्थापन सम्बन्धित प्रदेशहरुले नै हेर्ने सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए ।
आइतबार भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री दाहालले आवासीय सम्पर्क कार्यालय स्थापनापछि संघ र प्रदेशका बीचको समन्वय थप मजबुद बन्ने बताए । उनले यो कदमले संघीयता कार्यान्वयनमा समेत सकारात्मक सन्देश दिने दाबी गरे ।
कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङले आवासीय कार्यालय बनेपछि अब मुख्यमन्त्री र प्रदेश प्रमुखहरूले काठमाडौंमा भाडामा बस्नुपर्ने समस्या सधैंका लागि सकिएको बताइन् । ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई अहिलेसम्म भाडाको निवासमा बस्नुपर्ने अवस्था थियो । तर अब नयाँ भवनहरू बनेका छन् । यहाँ कम्तिमा आधारभूत सुविधाहरू उपलब्ध गराउनुपर्छ भनेर त्यहीअनुसार तयार गरिएको छ,’उनले भनिन् ।
भैँसेपाटीमा २७ रोपनी १२ आना क्षेत्रमा निर्माण गरिएका ७ वटा भवनमा १४ वटा ब्लक छन् । जसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने गरी तयार गरिएको मन्त्री गुरूङले जानकारी दिइन् ।
‘प्रत्येक ब्लकमा दुईवटा इकाई छन्, तीमध्ये एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीका लागि हो । सबै भवन तीन तलाका छन्,’ मन्त्री गुरूङले भनिन्, ‘जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ ।’
यसअघि प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा केन्द्र सरकारले अपार्टमेन्टमा मासिक झण्डै ९ लाख रुपैयाँ भाडा तिरेर राख्दै आएको थियो ।
निर्माणको ठेक्का ०७६ असोज २७ मा भएको थियो । यसको ठेक्का केसी–समानान्तर जेभीले ७२ करोड ४७ लाखमा लिएको हो। आवाससँगै सुरक्षा भवन, इन्टेरियरलगायत सबैको काम सकिएर आवास हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ ।