काठमाडौं । गृह मन्त्रालयका १० सहसचिवको सरुवा भएको छ। यसमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।
सोमबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार सहसचिवहरूको सरुवा भएको हो। सरुवा अनुसार अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा भएको छ।
विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका थिए। ६० किलो सुन तस्करीका आरोपीसँग ‘कनेक्सन’ देखिएपछि उनी विभागबाट तानिएका थिए।
तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। उनको ठाउँमा सहसचिव जयनारायण आचार्यलाई लगिएको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीलाई दाङको सिडिओ पठाइएको छ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत खटाइएको छ।
रुपन्देहीका सिडिओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याइएको छ।
गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ।
त्यसैगरी, मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सिडिओ पठाइएको छ।
महोत्तरीका दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ।
त्यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङकी रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओ बनाइएको छ।