काठमाडौं । भारतको बिहार प्रदेशमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरै पिछडा वर्गको बसोबास रहेको खुलेको छ ।

बिहार सरकारले अघिल्लो वर्ष गरेको गणनाअनुसार सार्वजनिक तथ्यांकमा दलितसहित पिछडा वर्गको जनसंख्याको बाहुल्यता रहेको देखिएको हो । बिहारको कुल जनसंख्या १३ करोड ७ लाख छ। त्यसमध्ये सबैभन्दा बढी यादव समुदायको संख्या छ। भारतमा यादव पिछडा जाति हो । भारतमा कुल जनसंख्याको १४.२७ प्रतिशत यादव छन्।

अति पिछडा वर्गमा पर्ने विभिन्न जातिको जनसंख्या ३६.०१ तथा पिछडा वर्गमा पर्ने समुदायको उपस्थिति २७.१३ प्रतिशत छ। माथिल्लो जाति मानिएका (ब्राह्मण, राजपुत, भूमिहार र कायस्थ) को जनसंख्या १०.५६ प्रतिशत छ। धर्मका आधारमा हिन्दुहरूको संख्या कुल जनसंख्याको ८१.९९, मुस्लिमको १७.७० र अन्य धर्म मान्नेको उपस्थिति १ प्रतिशतभन्दा पनि कम छ ।

बिहार सरकारले जातीय गणनाको तथ्यांक सार्वजनिक गरेपछि भारतीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। जातीय गणनाको माग अन्यत्र पनि उठ्न थालेको छ। विपक्षी गठबन्धन इन्डियाले सिंगो देशमा जातीय जनगणना गराइनुपर्ने विषयलाई आफ्नो राजनीतिक मुद्दा बनाउने देखिएको छ। सत्तारूढ भारतीय जनता पार्टीको ‘हिन्दुत्व’ को नारालाई टक्कर दिन विपक्षी गठबन्धनले नयाँ ‘सोसल इन्जिनियरिङ’ को मुद्दालाई उठाउने तयारीमा देखिएको छ।

भारतमा सन् १९३१ यता जातजाति छुट्याउने गरी जनगणना भएको छैन। सन् २०११ को जनगणनामा जातीय सर्वेक्षण पनि गरिएको थियो। तर, त्यो सार्वजनिक गरिएन। हरेक १० वर्षमा हुनुपर्ने जनगणना कोभिडका कारण २०२१ मा भएको छैन। सत्तारूढ भाजपा जातीय जनगणनाको पक्षमा छैन। त्यही बीचमा बिहारले आफ्नो प्रदेशको जनसांख्यिक विवरण सार्वजनिक गरेर केन्द्रदेखि सबै प्रदेशमाथि दबाब बढाएको छ।

बिहारले गरेको निर्णयलाई विपक्षी खेमाका दलहरूले स्वागत गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले जनसंख्याअनुसारको हक सम्बन्धित समुदायले पाउन जातीय जनगणना आवश्यक रहेको बताएका छन्। बिहारको राष्ट्रिय जनता दल र जनता दल युनाइटेड गठबन्धनबाट बनेको नितिश कुमार नेतृत्वको सरकारले गराएको जातीय गणनाको दबाब केन्द्रमा सत्तारूढ भाजपामाथि बढ्ने देखिएको छ।

नितिश कुमारले दुई वर्षअगाडि २३ अगस्त २०२१ मा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेर जातीय जनगणना गराइनुपर्ने माग गरेका थिए। जनगणनाको अधिकार केन्द्र सरकारको हो। तर, २०२१ मा केन्द्रले जनगणना नगराएपछि बिहार सरकारले आफ्नो प्रदेशमा जातीय सर्भे गराउने निर्णय लिएको थियो।

 

तपाईको प्रतिक्रिया