तेह्रथुम । आठराई गाउँपालिकाले दीर्घरोगी तथा विपन्न नागरिककालागि निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
गाउँपालिकाले हालै ‘आठराई गाउँपालिकाको दीर्घरोगी तथा विपन्न नागरिक निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम संचालन निर्देशिका, २०८०’ पारित गरेको छ । सोही निर्देशिकाबमोजिम गाउँपालिकाले दीर्घरोगी तथा विपन्न नागरिककालागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सन्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत निरज शर्माले बताए ।
गाउँपालिकाले निर्देशिकाबमोजिम मापदण्ड पुगेका नागरिकहरुलाई १५ दिनभित्र गाउँपालिका आवेदन दिन सूचित गरेको छ ।
‘आफ्नो परिवारको सदस्य दीर्घरोगी भएको वा आफ्नो आर्थिक अवस्था कमजोर भएको कारणले स्वयम स्वास्थ्य विमा कार्याक्रममा सहभागी हुन असमर्थ रही आर्थिक सहायता आवश्यक पर्ने परिवारको घरमुली वा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त सदस्यले उक्त कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा सम्वन्धित वडा कार्यालयमा आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गाउँपालिकाले सूचित गरेको छ ।
सो कार्यक्रमकालागि गाउँपालिकाले नागरिकताको प्रतिलिपि, दीर्घरोगी भएको परिवारको हकमा चिकित्सकले प्रमाणित गरेको वा उपचार गरेको पुर्जाको प्रतिलिपि, विपन्न परिवार भएको वडाबाट गरिएको सिफारिस पत्र, गरिब पहिचान भई परिचयपत्र वितरण गरेको भए परिचयपत्रको प्रतिलिपिसमेत लिएर आवेदन गर्न आग्रह गरेको छ ।