काठमाडौँ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौला नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निरौलालाई कम्पनीको महाप्रबन्धक नियुक्त गरेको हो । निरौलाले सोमबार बुद्धनगरस्थित कार्यालयमा पुगेर पदभार सम्हालेका छन् ।

सरकारले आवासको आवश्यकता परिपुर्ति गर्न २०४४ पुस ८ मा आवास तथा भौतिक योजना मन्त्रालय गठन गरेपछि तत्कालीन बन मन्त्रालयमातहत रहेको पुनर्वास कम्पनीलाई परिवर्तन गरी ग्रामीण आवास कम्पनी बनाएको थियो ।

पछि त्यही कम्पनीको नाम राष्ट्रिय आवास कम्पनी लिमिटेड बनाइएको हो । यो पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । हाल शहरी विकास मन्त्रालयअन्तर्गत रहेको आवास कम्पनी लिमिटेडमा मन्त्रालयले ऐनको व्यवस्थाबमोजिम महाप्रबन्धककालागि आवेदन मागेको थियो । जसमा २१ जनाले आवेदन दिएका थिए ।

उनीहरूमध्ये अन्तर्वाताका माध्यमबाट छानिएका तीन जनामध्ये सरकारले निरौलालाई रोजेको हो । तेह्रथुमको लालीगुराँस नगरपालिकाका निरौला नेपाली कांग्रेसका नेता हुन् । सो कम्पनीमा महाप्रन्धकको कार्यकाल ४ वर्षको हुन्छ । कम्पनीमा तत्कालिन महाप्रबन्धकको कार्यकाल सकिएपछि साउनयता रिक्त रहेको थियो । महाप्रबन्धक नहुँदा कम्पनीका कर्मचारीले तलब भत्ता समेत खान पाएका थिएनन् ।

तपाईको प्रतिक्रिया