तेह्रथुम । गाउँमा घरैपिच्छेजस्तो पाइन्छ, जाँडरक्सी । प्रायजसो मतुवाली समुदायले दैनिकरुपमा खाजाकैरुपमा प्रयोग गर्ने यस्तो मदिरालाई सरकारले कारोबार गर्नबाट भने बन्चित गरेको छ ।
गाउँघरमा उत्पादित मदिराको कारोबार गरेको थाहा पाए प्रहरीले नष्टमात्रै गर्दैन, त्यस्तो कारोबार गर्नेलाई कानूनी कारबाहीसमेत गर्छ । जसकारण कतिपय स्थानीय सरकारहरुले समेत त्यही व्यवस्थाबमोजिम घरेलु मदिरा (जाँड र रक्सी) को प्रयोगलाई निषेध नै गर्नेसम्मको अभ्यास गरिरहेका छन् । तर यहाँको छथर गाउँपालिकाले भने कानून बनाएर स्थानीय घरेलु मदिराको ब्राण्डिङ गर्ने नीति लिएको छ ।
गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्राण्डिङ गर्ने तयारी थालेको हो ।
गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण गर्न छलफल गरिरहेको बताए । ‘हाम्रो समुदायमा यो यस्तो ब्राण्ड हो, जसको उपयोग अहिले घरैपिच्छे अनिवार्य जस्तै छ । तर यसको कारोबार हुदैन । हामी कहाँ उत्पादन हुने यो परिकारलाई यदि ब्राण्डिङ गरेर बजारीकरण गर्ने हो भने यो निकै लोकप्रिय उत्पादन हुनसक्छ,’ उनले भने, ‘यसले ग्रामीण भेगका बासिन्दाको आयस्तरमा समेत टेवा थप्न सक्छ ।’
त्यहीकारण गाउँपालिकाले घरेलु मदिरालाई ‘ब्याण्ड (प्रतिबन्ध) होइन, ब्राण्ड’ बनाउने अवधारणा अघि सारिएको उनले बताए ।
त्यसो त घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नीति प्रदेश सरकारको पनि हो । यसअघिको वार्षिक नीति तथा कार्यक्रममा प्रदेश सरकारले पनि यस्तो नीति समेटेको छ । तर प्रदेश सरकारले काम अघि बढाउन सकेको छैन ।
छथर गाउँपालिकाले भने चालु आर्थिक वर्षको सातौं अधिवेशन तथा वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको छ । मौलिक संस्कृति तथा परम्परागत सिपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्रान्डिङ र बजारीकरणका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा आवश्यक कानुन निर्माणको काम अघि बढेको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।
लोकल रक्सीको जिल्ला बाहिर विक्री वितरणका लागि कानुनी अफ्ठ्याराहरु फुकाउने कार्यमा प्रदेश र केन्द्र सरकारसँग आफूले समन्वय गरीरहेको र त्यो सम्भव नभए पालिका भित्र मात्रै विक्री वितरण गर्ने गरी तयारी छ । घरेलु उत्पादनलाई प्रवर्द्धन गर्दै आर्थिक उन्नतीसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य अनुसार लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन जिल्लामै नयाँ कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।
कोशी प्रदेश सरकारलेसमेत केही वर्ष पहिले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धनका लागि योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो । सो कार्यदललाई नेपाली मौलिक सिप र कौशल प्रयोग गर्दै स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भैरहेकोले यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गर्नेबारे अध्ययन गरेर सुझाव पेस गर्ने जिम्मेवारी दिइएको थियो ।
गाउँपालिकाले आफ्नो पालिका भित्रको आर्थिक, सामाजिक, सांकृतिक र वातावरणीय प्रभाव समेतको पहिचान गरी गाउँमा कोदो उत्पादनको अवस्था, सम्भाव्यता, उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायता लगायतका सम्बन्धमा समेत अध्ययन गरिरहेको छ ।
कोदोको खेती, उत्पादन र त्यसबाट बन्ने घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरण अवस्था लगायतका विषयमा गाउँपालिकाले अध्ययन गरिरहेको छ । यो कामका लागि अन्य निजी क्षेत्रको भूमिकाको समेत खोजी भइरहेको छ । लोकल रक्सीको ब्राण्डिङमा स्थानीय श्रमको उपयोग गरी रोजगारी सृजना गर्ने र यसैको माध्यमबाट जीविकोपार्जन र आर्थिक क्रियाकलाप अगाडि बढाउने योजना रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।