काठमाडौं । गएरातिको भुकम्पका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाल्पासहित तीन जिल्लाको कार्यक्रम स्थगित गरेको छ ।
शनिबार पाल्पाको तानसेनमा हुने भेलाकालागि सभापति रवि लामिछाने शुक्रबार बेलुका त्यहाँ पुगेका थिए । तर राति गएको भुकम्पका कारण ठुलो जनधनको क्षति भएपछि लामिछानेले कार्यक्रम स्थगित गरेर भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा केन्द्रीत हुन आग्रह गरेका छन् ।
रास्वपाका सांसद र केन्द्रीय सदस्यहरुसहितको एक स्वास्थ्यकर्मीहरुको टोलीसमेत त्यसक्षेत्रमा खटिने तयारी रहेको उनले बताए ।
‘हाम्रो पार्टीमा धेरै जना साथीहरु आफैँ चिकित्सक पनि हुनुहुन्छ । उहाँहरुको एउटा टोली बनाएर भुकम्प प्रभावित क्षेत्रमा खटिने तयारीमा छ,’ लामिछानेले भने, ‘विपद्को बेला स्थानीय प्रशासनसँग समन्वय गरेर धेरैभन्दा धेरै साथीहरुलाई उद्धार र राहतमा खटिन आग्रह गर्दछु ।’
रास्वपाले शनिबार पाल्पामा भेला आयोजना गरेको थियो भने आइतबार र सोमबार गुल्मी र अर्घाखाँचीमा सभा गर्ने तयारी थियो ।
सभापति लामिछानेले तीनै जिल्लाका कार्यक्रम स्थगित हुने र त्यसबारे पार्टीले पछि आधिकारिक सूचना जारी गर्ने बताए ।
‘म आजै भूकम्प प्रभावित क्षेत्र पुग्दैछु । तपाईहरु पनि त्यहाँ पुगेर प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिनुहोला,’ उनले भने ।