काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई २५ लाख रुपैयाँ पार्टीको तर्फबाट, संघीय संसद् र प्रदेशसभाका सांसदहरूको १ महिनाको तलब उपलब्ध गराउने भएको छ । राप्रपाको केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले उक्त निर्णय लिएको हो ।

कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आइतबार बसेको बैठकले जाजरकोट भूकम्प पीडितका लागि राप्रपाले गर्ने सहयोग रकमबारे निर्णय लिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पुऱ्याउन पार्टीका संघीय सांसद र प्रदेशसभा सदस्यहरूको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठले भने ।

राप्रपाले उद्धारका लागि नेताहरूलाई जाजरकोट र रुकुम पश्चिममा नेताहरूलाई पठाएको छ । त्यस्तै, भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रम पनि राप्रपाले स्थगित गर्ने निर्णय लिएको श्रेष्ठले बताए ।

जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिमका १ सय ५७ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते छन् ।

तपाईको प्रतिक्रिया