विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमालेले आफ्नै संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई अयोग्य बनाएको दाबी गरेका छन् ।
कोशी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले नेता कार्कीविरुद्ध आक्रोश व्यक्त गरे । यसअघि मुख्यमन्त्री केदार कार्कीले विश्वासको मन लिनुभन्दा अगाडि एमाले नेता कार्कीले प्रदेशसभामा आङ्बोविरुद्ध चर्को अभिव्यक्ति दिएका थिए ।
त्यसबेला कार्कीले आङ्बोको नाम नलिइ, ‘केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि हामी विक्षिप्त भयौँ, रन्थनियौं’ भनेका थिए । गठबन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आएपछि आफूहरु रन्थनिएको बेला केदार कार्कीले हिम्मत गरेपछि समर्थन गरेको उनले बताएका थिए ।
संवैधानिक प्रक्रियाबाट बहुमत जुटाएर कोहि मुख्यमन्त्री बन्न सक्छ भने त्यसमा रन्थनिु र विक्षिप्त हुनुपर्ने कारण नरहेको आङ्बोले बताए । रन्थनिनु र विक्षिप्त हुनुको शाब्दिक ब्याख्या गर्दै उनले भने, ‘विक्षित हुनु भनेको आत्तीनु, दिमाग ठेगानमा नहुनु, बहुलाउनु, पागल हुनु भन्ने रहेछ । रन्थनिनु भनेको रिस, पीडा र चिन्ताले रनभुल्ल पर्नु, छट्पटीनु, रिंगटा लाग्नु र ढुन्मुनीनु रहेछ । यस्तो अवस्थामा किन पुगेको ?’
संघदेखि प्रदेशसम्म गठबन्धनको सरकार रहेको र सरकार निर्माणको क्रममा मात्र ह्विप नलाग्ने व्यवस्था भएकोले केदार कार्की गठबन्धनमा फर्कने स्वभाविक कुरा एमालेको बुझ्न नसकेको टिप्पणी आङ्बोले गरे । ‘गठबन्धनकै बलमा मत मागेर प्रदेशसभामा चुनाब जितेर आएको एउटा सदस्य गठबन्धन र पार्टीबाहिर सधैभरी हुन्छ भन्ने केटाकेटी कल्पना गर्दा एमाले आज प्रतिपक्षी बेञ्चमा पुगेको हो’ उनले भने, ‘यसले चै झनै रन्थनिने र ढुन्मुनिने अवस्था आएको होला ।’
एमालेको समर्थनमा मुख्यमन्त्री भएका केदार कार्कीले विश्वासको मत मागेदिन विपक्षी बेञ्चमा बसेका आङ्बोमाथि खनिएका कार्कीलाई आज बसेको प्रदेशसभाको बैठकमा आङ्बोले जवाफ फर्काएका हुन् । यसबीच माओवादी केन्द्र सरकारमा सामेल भएर एमालेबाट मन्त्री भएका रामबहादुर मगरले राजीनामा दिइसकेकोले आजको बैठकमा आङ्बो सत्तापक्षको बेञ्चमा थिए भने कार्की विपक्षी बेञ्चमा ।
आङ्बोले कार्कीलाई लक्षित गर्दै गठबन्धनले २०७९ साल पुस पुस २३ गते कार्कीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दा चाहिं किन विक्षिप्त नभएको भन्ने प्रश्न गरे । ‘त्यसबेला गठबन्धनले निर्णय गरेर मुख्यमन्त्री बनाउँदा विक्षिप्त हुनुपरेन । ढुनमुनिनु परेन ? अब ५ वर्ष नै विक्षिप्त हुनु परेन ?,’ आङ्बोले प्रश्न गर्दै भने, ‘न्यूनतम राजनीतिक संस्कार एमालेले देखाउन सकेन ।’
कार्कीको नाम नलिई आङ्बोले जसरी पनि आफू मुख्यमन्त्री हुनुपर्ने र आफू मुख्यमन्त्री नभए जथाभावी गर्ने हर्कत गरेको आरोप लगाए । ‘जसरी पनि आफू मुख्यमन्त्री हुनुपर्ने, त्यो नभएर अदालतमा गएर, प्रदेशसभा बैठक चल्न नसक्ने अवस्था बनाएर असंसदीय खेल खेलेको हैन ?’ उनले प्रश्न गरे । आफैं सरकार निर्माणको प्रक्रियालाई जबरजस्ती उपधारा ५ मा पुर्याएर मध्यावधि छल्न केदार कार्कीलाई समर्थन गरेको हुँ भन्नु लाजमर्दो भएको उनको भनाइ थियो ।