काठमाडौं । शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भयो। गृह मन्त्रालयकाअनुसार जाजरकोटमा १०१ र रूकुममा ५२ गरी १५३ जनाको मृत्यु भएको छ।
यसरी भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका छन् । जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेमा ४६ जना अर्थात् ४३ प्रतिशत बालबालिका छन् भने रूकुम पश्चिममा २८ अर्थात ५३ प्रतिशत बालबालिका छन् । शुक्रबार आएको भूकम्पमा किन यति धेरै बालबालिका परे त? धेरैको अन्दाज रहन्छ- मध्यरातमा भूकम्प आउँदा बालबालिका भाग्नै पाएनन् । तर कारण यस्तोमात्रै छैन ।
जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडकबहादुर बुढा भूकम्पमा धेरै बालबालिका पर्नुको पछाडि चाडपर्व मनाउन गाउँ फर्किनुलाई कारण मान्छन्। सामुदायिक विद्यालयहरूले दसैं–तिहारको बीचमा विद्यालय खोलेका छैनन्। त्यसले गर्दा धेरै बालबालिका गाउँमै थिए ।
अर्को कारण अभिभावक तथा युवायुवती वैदेशिक रोजगारी, शिक्षा र मजदुरीका लागि विभिन्न ठाउँ पुगेका छन्। घरमा बुढापाका तथा बालबालिका रेखदेख गर्न एक दुईजना महिला मात्र बस्छन्। बाँकी मजदुरी र शिक्षाका लागि जिल्ला बाहिर वा विभिन्न सहर जान्छन्।
जाजरकोटका गाउँमै उच्च शिक्षाका विद्यालय छैनन्। गाउँमा निम्न माध्यमिक तहको अध्ययन गर्ने बालबालिका मात्र बस्छन्। त्यसैले विपदमा धेरै बालबालिका तथा वृद्धवृद्धाको ज्यान गएको हुनसक्ने उनको बुझाइ छ। ‘युवायुवती तथा सक्षम व्यक्ति गाउँमै बस्दैनन्, त्यसैले धेरै बालबालिकाको मृत्यु भएको हुनसक्छ,’ उनले भने। जाजरकोटको मात्र नभई अहिले देशकै अवस्था त्यस्तै छ। उनी यसको जिम्मेवार देशको संरचना, विकासको अभाव, रोजगारीको अवसर, मूल्य वृद्धि र सीपयुक्त शिक्षा नभएकोलाई मान्छन्।
अर्का एक सरकारी अधिकारीले भौगोलिक विकटता र समयमै उद्धार नभएका कारण धेरै बालबालिकाको ज्यान गएको दाबी गर्छन् । ‘धेरै बालबालिकाको घरले पुरिएर मृत्यु भएको छ। उद्धार गरेपछिका भने धेरै बाँचेका छन्,’ उनले भने, ‘भौगोलिक संरचना नै त्यस्तै छ। जहाँ पुग्न घन्टौं हिँड्नुपर्छ।’
उनी भौगोलिक संरचनासँगै सक्षम युवायुवती रोजगारी तथा मजदुरीका लागि बाहिरिएकाले घरमा रहेका बालबालिकाको मृत्यु भएको बताउँछन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायक उपरीक्षक (डिएसपी) सन्तोष रोक्काले भने रातिको समयमा भूकम्प गएकाले धेरै बालबालिकाले ज्यान गुमाएको बताए । ‘मध्य निन्द्रामा परेकाले पनि उनीहरूले भाग्ने समय नै पाएनन्, कतिपयले भूकम्प आएको थाहा नपाएको पनि देखियो,’ डिएसपी रोक्काले भने ।
भूकम्पमा परी घाइते भएका बालबालिकालाई समयमा उद्धार गर्न नसक्दा धेरैको मृत्यु भएको उनको अनुभव छ। उनले थपे- ‘कतिपय बालबालिका समयमा उपचार पाएको भए बाँच्थे कि भन्ने लागेको थियो।’ आपतकालीन समयमा प्रहरी, चिकित्सक टोली घटनास्थलमा पुग्न समय लाग्यो। जसले गर्दा धेरै जनालाई बचाउन नसकिएको उनको भनाइ छ।
यता रुकुम पश्चिममा पनि अवस्था उही छ । रूकुम पश्चिमका जिल्ला प्रहरी निरीक्षक बिष्णु श्रेष्ठका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका छन्। गाउँमा बयोवृद्ध र केटाकेटीमात्रै भएकाले पनि भूकम्पबाट ज्यान गुमाउनेको बालबालिका संख्या धेरै भएको हुनसक्ने उनले अनुमान गरे। रूकुम पश्चिमतिर एक घर, एक जना अमेरिका जाने चलन नै चलेको छ। अवैध बाटो हुँदै वा प्रक्रिया पुर्याएर अमेरिका जानेमा रूकुम पश्चिम पहिलो नम्बरमा पर्ने श्रेष्ठले बताए। अमेरिका जान नसक्नेहरू अन्य देश गएका छन्। त्यसले गर्दा गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र धेरै भेटिन्छन्।
त्यही कारण शुक्रबारको भूकम्पमा धेरै बालबालिकाको ज्यान गएको हुनसक्ने उनको बुझाइ छ। उनले भनेअनुसार रूकुम पश्चिम गाउँमा अझै सडक र यातायातको सुविधा पुगिसकेको छैन। भूकम्पले धेरै क्षति पुर्याएका ठाउँ पुग्न घन्टौं समय लाग्छ। उद्धार टोली समयमा नपुगेकाले पनि धेरै बालबालिको मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक श्रेष्ठले बताए। ‘भूकम्पमा पुरिएका बालबालिकालाई तत्काल उद्धार गर्न सकिएन, प्रहरी दुई/तीन घन्टापछि मात्र पुगेको थियो,’ प्रहरी निरीक्षक श्रेष्ठले भने।
जिल्ला तथा स्थानीय तहमा जनशक्तिको अभाव, सडक अवरूद्ध र घन्टौं पैदल यात्रा गरेर घटनास्थलमा पुग्नुपर्ने बाध्यताले पनि धेरै बालबालिकालाई चाहेर पनि बचाउन नसकिएको उनको दु:खेसो छ। त्यस्तै, रूकुम पश्चिमका सहायक जिल्ला प्रमुख प्रवेश बढुवाल पनि भौतिक संरचना, सूचना आदान-प्रदान, जनशक्ति अभाव र समयमा उद्धार हुन नसक्दा धेरै जनाले ज्यान गुमाउनु परेको दु:ख पोख्छन्।
‘भूकम्पले कहाँ-कहाँ मानवीय क्षति पुगेको छ भन्ने थाहा पाउनै समय लाग्यो। त्यसैले तत्काल उद्धार सम्भव नै भएन,’ उनले थपे।
उनका अनुसार जिल्लाले अझै प्रत्येकको घर-घरमा पुगेर तथ्यांक संकलन गरिसकेको छैन। किनकि जिल्लाका पदाधिकारीहरू उद्धार र राहतको काममा लागि परेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का विपदमा धेरैजसो बालबालिका तथा बुढापाकाको ज्यान जाने गरेको बताउँछन्। उनका अनुसार विपद बालबालिका तथा बयोवृद्ध छिटो भाग्न सक्दैनन्। कतिपय बालबालिका विपदमा के गर्ने, के नगर्ने भनेर अलमलमा पर्छन्। उनीहरूलाई अरूले निर्देशन दिनुपर्छ। तर विपद्को समयमा उनीहरूलाई निर्देशन दिने सम्भावना हुँदैन।
रातको साढे ११ बजेतिर गाउँमा प्राय: मानिसहरू सुतिसकेका हुन्छन्। धेरै बालबालिकाहरू अभिभावकसँगै सुतेका हुँदैनन्। छुट्टै ओछ्यान वा कोठामा सुतेका बालबालिकाहरूलाई उठाउन नभ्याएको हुनसक्ने उनको अनुमान छ। अर्को कारण जाजरकोट तथा रूकुमका गाउँहरू विकसित भइसकेका छैनन्।
अझै रातको समयमा भूकम्प आउँदा बाहिर निस्कन सक्ने अवस्था नभएको पनि हुनसक्छ। त्यसैले धेरै बालबालिकाको ज्यान गएको हुनसक्ने प्राधिकरणको प्रवक्ता खड्का बताउँछन्। त्यहाँ काठमाडौंको जस्तो सडक र घर छैनन्। यहाँ सामान्य केही घटना हुँदा हजारौं संख्यामा मानिसहरू जम्मा हुन्छन्। गाउँमा पातलो बस्ती झनै जागरूक युवा वर्ग वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले पनि गाउँ पातलिँदै गएको उनले बताए।
‘यो पछिल्लो समयको डरलाग्दो सत्य हो, जे परे पनि तत्काल खटिनसक्ने युवा खाडीमा छन्,’ उनले भने। युवा गाउँमै भएका भए प्रहरी, उद्धार टोली पुग्ने अवधिमा धेरै पुरिएका व्यक्तिहरूको समयमै उद्धार हुने उनको धारण छ।
बाल अधिकारकर्मी इन्द्रराज भट्टराई विपदमा जहिले पनि कमजोर वर्ग नै जोखिममा पर्ने बताउँछन्। विपदमा धेरैजसो बालबालिका, बुढापाका, अशक्त व्यक्ति नै पर्ने उनले बताए। साथै रूकुम तथा जाजरकोटको भौतिक संरचनाले पनि धेरैको ज्यान गएको हुनसक्ने उनी बताउँछन्।
उनका अनुसार विपदमा प्राय:ले आफूलाई बचाउन कोसिस गर्छन्। आफू बाहिर निस्किएपछि मात्र अभिभावकले बच्चाभित्र भएको कुरा याद गर्छन्। त्यस्तो अवस्थामा आफ्ना बालबालिकाहरूलाई बचाउन नसकेको हुनसक्ने बालअधिकारकर्मी भट्टराई बताउँछन्।
त्यस्तै, राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द आपतविपदमा अरूलाई बचाउने भन्नेबारे ध्यानै नहुने धारण राख्छन्। विपदमा हरेक व्यक्तिले आफूलाई सुरक्षित गर्न खोज्छन्। सुतेका बालबालिकालाई बोलाउन तथा उठाउन नभ्याइएको हुनसक्ने उनी बताउँछन्। ‘गाउँमा सहरमा जस्तो पक्की घर हुँदैनन्। भूकम्प प्रतिरोध अर्थात् सुरक्षित भवन नहुँदा पनि धेरैको मृत्यु भएको देखिन्छ,’ उनले भने।
२०७२ सालको भूकम्पमा भन्दा यसपटक धेरै बालबालिका मृत्यु भएको देखिन्छ। यसअघिको भूकम्पमा यति धेरै बालबालिकाको मृत्यु नभएको उनको दाबी छ। त्यतिबेला कति बालबालिकाको मृत्यु भएको थियो भन्ने उनले ठम्याउन सकेनन्। २०७८ को जनगणना अनुसार १८ वर्षभन्दा कम उमेरका ९८ लाख ६९ हजार ५ सय ८३ जना बालबालिका छन्। कुल जनसंख्याको ३३ प्रतिशत बालबालिका छन्।