तेह्रथुम । सहरी विकास मन्त्रालयले तेह्रथुममा सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयअन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले कार्यक्रमका लागि तेह्रथुम जिल्लाभित्रका सर्वसाधारण नागरिकहरुबाट आवेदन माग गरेको हो । सरकारले गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरबार विहीन भएकाहरुलाई घर निर्माण गर्न ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमबाट अनुदान दिँदै आएको छ ।
यो कार्यक्रम सन्चालनका लागि हरेक जिल्लामा प्रत्यक्ष निर्वाचन सांसदको संयोजकत्वमा समन्वय समिति रहने गरेको छ ।
हालै तेह्रथुमबाट निर्वाचित सांसद एवम् सहरी विकासमन्त्री सीता गुरुङको संयोजकत्वमा बसेको समन्वय समितिको बैठकले जिल्लाका त्यस्ता प्रभावित नागरिकहरुबाट मंसिर १० गतेभित्र आवेदन माग गरेको समितिका सदस्य सचिव एवम् सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए ।
उनकाअनुसार आवेदन दिने गरिब परिवारका फुसको छानो भएका नागरिकहरुलाई अनुदानमा जस्तापाता र काठ उपलब्ध गराइनेछ ।