काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन्। मंगलबार सिंहदरबारमा भएको गणतन्त्रवादीहरुको भेलाबारे टिप्पणी गर्दै उनले यस्ताे बताएका हुन्। उनले शीर्ष नेताहरुले यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने सबै योगदान दिइसकेको बताएका छन्। सोही कारण उनीहरुले सक्रिय राजनीतिबाट विश्राम लिए व्यवस्था आफैं बलियो बन्ने उनको जिकिर छ।
‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू( शीर्ष नेता ) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्यो,’ उनले भनेका छन्, ‘मैले भन्दै आएको छु, फेरी भन्छु-तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’
उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै शीर्ष नेताहरु एकजुट भएर गर्ने काम भने सक्रिय राजनीतिबाट विश्राम लिने मात्रै रहेको दोहोर्याएका छन्। शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदा इतिहासले श्रद्धापूर्वक सम्झने र गणतन्त्र विरुद्ध उठेका आवज आफैं विलाएर जाने बताएका छन्।
‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ,’ उनले भनेका छन्।
मंगलबार सिंहदरबारमा गणतन्त्रवादी दलका शीर्ष नेताहरूबीच गणतन्त्रमाथि प्रहार हुन थालेकोले मिलेर प्रतिवाद गर्ने सामूहिक प्रतिबद्धता गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलका नेताहरूसँग छलफल गरेका थिए।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत उपस्थित थिए।