फिदिम । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्न सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एमालेले पालैपालो च्याखे दाउ थाप्दा देखिएको अन्योलताले प्रदेशको राजनीतिसँगै विकास प्रक्रियामा पनि धक्का लागेकाले प्रदेशमा स्थिरताका लागि सबै दल सम्मिलित सरकारको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाल विद्यार्थी संघले फिदिममा आयोजना गरेको चियापान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले प्रदेश सरकार बनाउने र ढाल्ने प्रक्रिया महिनैपिच्छे चल्दा ठूला दलप्रति नागरिकको वितृष्णा बढ्नका साथै विकास प्रक्रियामा पनि धक्का लागेको बताए ।

आङदेम्बेले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपीडितलाई राहतका नाममा भइरहेको राजनीतिकरण बन्द हुनुपर्ने धारणा राखे । २०७२ को भूकम्पमा फरक ध्रुवमा विभाजित राजनीतिक दलहरु एकै ठाउँ उभिएर राहत र उद्धारमा खटेको स्मरण गर्दै यस पटक पनि त्यो एकता दोहोरिनु जरुरी रहेको उनको भनाइ थियो ।

पछिल्लो पटक कोशी सरकार गठन प्रक्रियाका क्रममा कांग्रेसमा देखिएको अन्तरद्वन्द्व पार्टीको आन्तरिक विषयवस्तुमात्रै भएकाले टिप्पणी नगर्न आङदेम्बेको आग्रह थियो ।

चियापान समारोहमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र विद्यार्थी संघठनका नेताहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया