रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरू भएको छ ।
तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो ।
सो मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ हुने जिल्ला अदालत रूकुम पश्चिममा सूचना अधिकारी गोविन्द कोइरालाले बताए । ‘वादी र प्रतिवादीसमेत गरी अहिलेसम्म २४ जना वकिलहरूले बहस गर्ने सूची छ । मुद्दाको फैसला आउन केही दिन लाग्न सक्छ,’ उनले भने ।
अदालतभित्र मुद्दामा अन्तिम सुनुवाइ सुरू हुँदा अदालत बाहिर भने पीडितहरूले न्याय माग्दै धर्ना सुरू गरेका छन् । शनिबार रातिदेखि नै अदालत परिसर पुगेका पीडित परिवार र अधिकारकर्मीहरूले आइतबार बिहानैदेखि अदालतको गेटमा धर्ना दिएका छन् । त्यसक्रममा उनीहरूले नाराबाजीसमेत गरेका थिए । पीडितहरुको धर्नामा अधिकारकर्मी खगेन्द्र सुनारसहितले साथ दिएका छन् ।
अदालतका अनुसार वादीकातर्फ जिल्ला न्यायधिवक्ता चन्द्रबहादुर सिंजालीका नेतृत्वमा चार जना सरकारी वकिलले बहस गर्दैछन् भने पीडितकातर्फ बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १२ जनाले नाम टिपाएका छन् । त्यस्तै, प्रतिवादीकातर्फ आठ जना वकिलले बहस गर्ने अदालतले जनाएको छ ।
पीडित पक्षकातर्फबाट बहस गर्न काठमाडौंबाट वरिष्ठ अधिवक्ता त्रिपाठी, अधिवक्ताहरू मोहन शाशंकर, बद्री भुसालसहितको टोली रुकुम पश्चिम पुगेको छ । दुवै पक्षको बहस सुनिसकेपछि मुद्धामा थप जाँचबुझ वा बुझ्नुपर्ने विषय नभए यही सुनुवाईबाट मुद्धामा फैसला आउन सक्ने सूचना अधिकारी कोइरालाको भनाइ छ ।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । मृत्यु भएका नवराज विकसहित उनका साथीहरूको शव दुई हप्तासम्म लगाएर भेरी नदी किनारबाट संकलन गरिएको थियो ।
घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षकालागि कारागार चलान भएका थिए ।
सो घटना लगत्तै रूकुम पश्चिमका सांसद जनार्दन शर्माले पीडकहरूलाई बचाऊ गर्ने गरी दिएको अभिव्यक्ति विवादास्पद बनेको थियो । सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरी प्रतिवेदन पेश भएपनि सरकारले त्यो प्रतिवेदन सार्वजनिक समेत गरेन । समितिले सोती घटनामा योजनाबद्धरूपमा हत्या भएको निष्कर्ष निकालेको थियो ।