काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले अर्थ मन्त्रालयले स्रोत ग्यारेन्टी नगर्दा विकास आयोजना अघि बढाउन समस्या भएको बताएकी छन् ।
बुधबार राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री गुरुङले कुनैपनि विकासका योजना प्रक्रियागत रुपमा निरन्तर भएपनि आवश्यक बजेट नहुदाँ अघि बढाउन समस्या भएको बताइन् ।
‘सबै आयोजना अगाडि बढाउनको लागि सरकार तयार छ । तर देशको आर्थिक अवस्थाको कारणले पर्याप्त प्रगति हुन नसकेको कुरा स्वीकार गर्नुपर्छ । अर्थतन्त्रको विषयले हामीलाई अलि कठिन बनाएको छ,’ मन्त्री गुरुङले अघि भनिन् ‘त्यो हिसाबले अहिले हामीले जति लाग्ने रकम भनेका छौ त्यसको स्रोतको सुनिश्चितता अर्थ मन्त्रालयले गर्नुपर्ने भएको कारणले अर्थमा पेस गरेका छौ ।’
उनले ग्यालरी बैठकको सन्दर्भमा पनि कला कृतिहरू जस्ताको त्यस्तै ल्याउनको लागि अध्ययन गर्दा ढिला भएको प्रष्ट पार्दै २ महिनाभित्रमा काम सुरु हुने बताइन् ।
‘यो ग्यालरी बैठक जुन छ यसलाई पनि जस्ताको त्यस्तै राख्न सक्नुपर्छ भन्ने तपाईहरुले राख्नु भएको लक्ष्य र हामीले पनि त्यसैलाई कार्यान्वयनमा लाने भनेर अगाडि बढ्दा त्यहाँभित्रको ऐतिहासिक कला कौशल छ त्यसलाई कसरी जोगाउने भन्ने विषयमा हामीले भवन बनाउने मात्र भन्दा पनि भित्रको कला कृतिहरू पनि जस्ताको त्यस्तै होस भन्नको लागि अन्य प्रविधिहरु के के छन् भनेर खोज्ने क्रममा एक महिना लागेको हो ।’ उनले भनिन् ‘त्यो कुरालाई सकारात्मक रुपमा लिनको लागि अनुरोध गर्न चाहन्छु । यो बन्नलाई समय लाग्छ तर सुरुवात भने २ महिनाभित्रमा हुन्छ यसको लागि म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।’
पुरानो संसद् भवन (ग्यालरी बैठक) थाङ्का चित्र, ऐतिहासिक आर्ट, राणादेखि राजासम्मका ऐतिहासिक फोटो संरक्षण अभावमा लथालिंग छाडिएको भन्दै समिति बारम्बार त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएको थियो ।
त्यस्तै उनले संसद् भवन निर्माणका काम पुरा गर्न सरकारले सक्दो प्रयास गरेको बताइन् । ‘अर्को प्रतिनिधि र राष्ट्रिय सभाको भवनको कुरा छ, यो २०७६ सालदेखि सुरुवात भएको भवन छ । तर १२ वटै भवन आवश्यक थियो कि थिएन भन्ने विषयमा छुट्टै बहस होला तर नेपाल सरकारले आयोजना सुरु गरेपछि र मन्त्रालयले सम्हाली सकेपछि छिटो सम्पन्न गर्नुपर्छ भनेर लागि परेको छु ।’ उनले भनिन् ।