काठमाडौँ । जातीय भेदभाव र छुवाछुतविरुद्ध सामाजिक अभियान सञ्चालन गरिरहेका मित्र परियारको जात निगरानी सञ्जाल गठन गरेका छन्।
दलित आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने भन्दै परियारले आफ्नै नेतृत्वमा सञ्जाल गठन गरेका हुन्। अक्सफोर्ड युनिभर्सिटीबाट पढाई पूरा गरेका गोरखा परियार यसअघि लण्डनमा किंग्स्टन युनिभर्सिटीमा अध्यापन गराउँथे।
गाउँमा हुँदा जातीय विभेद खेपेका उनी डायस्पोरामा समेत विभेदको साङ्लोले नछोडेपछि नेपाल फर्किएर त्यसका विरुद्धको अभियानमा लागेको बताउँछन्।
शनिबार काठमाडौंमा भएको एक भेलाले सञ्जालको उपाध्यक्षमा दुर्गा विक (बाँके), महासचिवमा मनिराम भुल (बैतडी), र कोषाध्यक्षमा जयन्ती सुनार (जाजरकोट) लाई चयन गरेको छ।
त्यस्तै, सदस्यहरूमा पार्वती दर्जी (मोरङ), सुब्बा सहदेव पासवान (रौतहट), सहदेव परियार (जाजरकोट), नरबहादुर परियार (सल्यान), कपुर विक (बाजुरा), दिपेश रत्न परियार (चितवन), बसन्त परियार (बाँके) चयन भएका छन्।
सञ्जालले ७७ वटै जिल्लामा शाखा कमिटीहरू गठन गर्ने र जातीय भेदभावविरुद्ध अभियान चलाउने तयारी छ। ‘सञ्जाल लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षधर संगठन हो। तर यो कुनै राजनीतिक दलसँग आवद्ध हुँदैन। हामी चुनाव लड्ने पनि होइन,’ उनले भनेका छन्,‘हामी स्वतन्त्ररुपमा जातीय भेदभाव र दलित समुदायको शशक्तिकरणकालागि काम गर्छौँ।’
सञ्जालले देशभरि जातीय भेदभावजन्य घटनाको निगरानी राख्ने, त्यस्ता घटनाहरूको रेकर्ड राख्ने र सूचना प्रसार गर्ने, जातीय अपमान र हिंसाका घटनामा कानूनीरुपमा न्यायका लागि पहल गर्ने लगायत काम गर्नेछ।