काठमाडौँ । ऊर्जा उत्पादकहरूले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन् । निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा पनि आयोजना निर्माण सम्भव रहेको उनीहरूको दाबी छ ।

५० वर्षको विद्युत उत्पादनको अनुमतिपत्र दिएमा नेपालको निजी क्षेत्रले पनि आयोजना निर्माण गर्न सक्ने र त्यसले नेपालललाई नै आर्थिक लाभ हुने उनीहरूको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का पदाधिकारीहरू सरकारका मन्त्री, सांसद र सरोकारवालामार्फत् आयोजना नेपाली जनताकै लगानीमा निर्माण गर्ने गरी अघि बढाउन लबिङ गर्दै आएका छन् ।

उनीहरूले मंगलबार सहरी विकास मन्त्री सीता गुरूङलाई भेटेर त्यस्तो प्रस्ताव दोहो¥याए । मन्त्री गुरुङ तमोर जलाशययुक्त आयोजना प्रभावित क्षेत्र तेह्रथुमबाट निर्वाचित भएकी हुन् । मंगलबार मन्त्री गुरूङसँग इप्पानका अध्यक्ष गणेश कार्की, पूर्वअध्यक्ष शैलेन्द्र गुरागाँई र वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीसहित पदाधिकारीहरूले भेटवार्ता गरे ।

सो भेटमा तमोर जलाशययुक्त आयोजना निर्माणका विषयमा छलफल भएको थियो । त्यसक्रममा सरकारले नेपाली लगानीमै आयोजना निर्माणको योजना ल्याए र निजी क्षेत्रलाई ५० वर्षको विद्युत उत्पादनको अनुमतिपत्र दिए आफूहरू त्यसकालािग सक्षम रहेको इप्पानका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले सरकारले देशको अर्थतन्त्रमा ठुलो महत्व राख्ने सम्भावना बोकेको आयोजना विदेशीलाई दिन लागेको बताए । ‘यो आयोजना नेपालले बनाउँदा नेपालकै आर्थिक विकास र संमृद्धिमा ठुलो टेवा पुग्ने निश्चित छ । जति पनि ठुला आयोजनाहरू छन्, त्यसमध्ये यो सबैभन्दा धेरै नाफा हुनसक्ने आयोजना पनि हो,’ उनले भने, ‘लगानीका हिसावले पनि यो आयोजना ठूलो हो । तर हामी सरकारले हामीलाई दिएको अवस्थामा १० वर्षभित्र आयोजना निर्माण गरेर सञ्चालनमा ल्याउन सक्छौँ ।’

उनले पुँजी जुटाउने विषयमा समेत आफूहरूसँग प्रष्ट योजना रहेको बताए । ‘आयोजना बन्दा त्यहाँका हरेक घरधुरी गाँस कटाएर भएपनि ५० हजार रुपैयाँ लगानी गर्न तयार छन् । म पनि त्यहीको स्थानीय हुँ,’ उनले भने, ‘नेपालीको लगानीमा आयोजना बन्यो भने त्यसबाट हुने सबै लाभ नेपालीले नै पाउने निश्चित हुन्छ ।’
उनले अहिले नेपाललाई उज्यालो बनाउने काममा समेत आफूहरूकै भूमिका रहेको बताए । ‘अहिले नेपालमा ३ हजार मेगावाट विजुली छ । त्यसमध्ये हामीले नै दुई हजार मेगावाट बनाएका छौँ,’ उनले भने, ‘तुलनात्मकरुपमा यो ठूलो परियोजना हो, तर हामी गर्न सक्छौँ ।’

भेटमा मन्त्री गुरुङले नेपालीकै लगानीमा आयोजना निर्माण गर्ने बारे आफूले लबिङ गर्ने बताइन् ।

तेह्रथुम, ताप्लेजुङ र पाँचथरको सीमा भएर बहने तमोर नदीबाट न्यून लगानीमा धेरै विद्युत उत्पादन गर्न सकिने नेपाल विद्युत प्राधिकरणको अध्ययनको निष्कर्ष छ । २०७० मा अनुमति लिएर प्राधिकरणले अध्ययन गरेको थियो भने त्यसअघि सन् १९८५ मा जाइकाले पनि अध्ययन गरेको थियो । ती अध्ययनको निष्कर्षका कारण जलविद्युत उत्पादनका हिसावले यो आयोजनालाई निकै महत्वपूर्णरुपमा हेरिएको सरोकारवाला बताउँछन् ।

तमोर नदीको पाँचथर–तेह्रथुम खण्डमा बाँध निर्माण गरेर विद्युत उत्पादन गर्ने अध्ययनको निष्कर्ष छ । यसरी आयोजना बनेको अवस्थामा सुक्खायाममा दिनमा ८ घण्टा सञ्चालन गर्न सकिने र वर्षामा १६ घण्टासम्म लगाचार चलाउन सकिने त्यसबेला प्राधिकरणको अध्ययनको निष्कर्ष थियो ।

सो अध्ययनका अनुसार आयोजनाबाट सुक्खायाममा १ हजार १११ गिगावाट आवर र वर्षायाममा १ हजार ८७२ गिगावाट विद्युत उत्पादन हुन सक्छ । तमोर आयोजनाको बाँध बनाउँदा तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर ताल बन्नेछ ।

प्राधिकरण्को अध्ययन अनुसार आयोजनामा २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट बिजुली उत्पादन हुन्छ भने त्यसलाई बढाएर ३ सय मिटर पु¥याए तमोरबाट २५ सय ६५ मेगावाट बिजुली उत्पादन हुनेछ ।

तमोरमा २०५ मटिर बाँध लगाउँदा जम्मा १२६ घरपरिवारमात्रै विस्थापित हुनेछन् । यो जलाशयमा जम्मा डुबानमा पर्ने जग्गामध्ये ५ प्रतिशत मात्रै खेती योग्य रहेको छ ।
त्यसो त आयोजना बनाउन सरकारले चार वर्षअघि नै चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडसँग सम्झौता गरिसकेको छ । तर सो कम्पनीले पनि आयोजनाको काममा गति दिएको छैन ।

सम्झौतामा सन् २०२० को जनवरीमा भएको सम्झौतामा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने उल्लेख छ । तर सो कम्पनीले चार वर्षमा पनि विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदन भने बुझाएको छैन ।

तपाईको प्रतिक्रिया