तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी छन् । उनले मुलुकको ठूलो जनसंख्या आज पनि कृषि पेशामा आश्रित रहेको भन्दै कृषिबाटै देशको आर्थिक संमृद्धिको सम्भावना रहेको बताइन् ।
आइतबार गृह जिल्ला तेह्रथुमको आठराई गाउँपालिका–४ मा निर्माण हुन लागेको कोल्ड स्टोर भवन शिलान्यास गर्दै मन्त्री गुरुङले गाउँमा किसानले उत्पादन गरेको कृषिउपजलाई समयाअनुकुल बजारमा पु¥याउन सके राम्रो आर्थिक लाभ हुन सक्ने बताइन् ।
सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले पाँच करोड रुपैयाँ लागतमा चिस्यान केन्द्र भवन बनाउन लागेको हो । भवन निर्माणकालागि संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
‘यो बहुवर्षे योजना हो । अहिले २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ,’ मन्त्री गुरुङले भनिन्, ‘समग्रमा यो चिस्यान केन्द्रका लागि ५ करोड रुपैयाँको भवन बन्नेछ ।’ उनले भवन बनेपछि गाउँमा उत्पादन भएको अदुवा, अलैँची, तरकारी र फलफुललगायत कृषि उपजलाई चिस्यान केन्द्रमा भण्डारण गरेर बजारसम्म पु¥याउन सजिलो हुने अपेक्षा गरिएको बताइन् ।
‘चुनावको बेला छ वटै पालिकामा चिस्यान केन्द्रमा बनाउनुपर्ने तपाईहरुको माग थियो, त्यहीअनुसार कम्तिमा एउटा पालिकामा एउटा चिस्यान केन्द्र बनाऔँ भनेर मैले पहल गरेको छु,’ उनले भनिन् ।
सरकारले देशैभरि व्यवसायिक कृषि उपजलाई जोड दिएर नीति तथा कार्यक्रम बनाएको भन्दै मन्त्री गुरुङले जमीन बाँझो नराख्न र उत्पादनमा जोड दिन आग्रह गरिन् ।
चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तेजकुमार ईङनामले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।