काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका-७ का अजित ढकाल (मिजार) को शवले ८ वर्षसम्म न्याय नपाएको भन्दै दलित अभियानकर्ताले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दशर्नकुमार नेपालीले मिजारले न्याय नपाए सडकमै उत्रिने चेतावनी दिएका हुन्।
‘वर्तमान व्यवस्थामा ठूलो योगदान पुर्याएका दलित समुदायले अझै अमानवीय व्यवहार झेल्नु परिरहेको छ,’ कार्यक्रममा बोल्दै नेपालीले भने, ‘प्रमाण हुँदाहुँदै पनि मिजारका हत्या आरोपीले उन्मुक्ति पाएका छन्।’
त्यस्तै, कार्यक्रममा बोल्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी अध्यक्ष शान्ति गजमेरले राज्य सत्तामा पीडितको पहुँच नहुँदा न्याय पाउन कठिनाइ भएको बताइन्।
‘अब न्याय नपाए हामी जस्तोसुकै संघर्ष गर्न तयार छौं,’ उनले भनिन्।
एकीकृत दलित मुक्ति मोर्चा नेपाल, मण्डल सदस्य जात व्यवस्ता उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्च नेपालले मिजारको न्यायको लागि विभिन्न कार्यक्रम गरेर सरकारलाई झकझ्काउने योजना बनाएका छन्।
उनीहरूले आगामी माघ १५ गते अन्तर्क्रिया, २० देखि २५ सम्म प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३० गते प्रदर्शनमा उत्रिने बताएका छन्।
सरकारले न्याय नदिएसम्म निरन्तर लागिरहने दलित अभियानकर्ताहरूको भनाइ छ।
घटना के हो?
२०७३ साल असार २५ गते विवाह गरी काभ्रे ज्याम्दीकी कल्पना पराजुलीलाई अजितले घरमा ल्याएका थिए। अन्तरजातीय विवाह भएको भन्दै पराजुलीको परिवारले दबाब दिएपछि केटी पक्षले प्रहरीको सहयोगमा असार २७ गते केटीलाई फर्काएको थियो।
२९ गते दिउँसोतिर रिचार्ज लिन निस्केका अजित कहिले फर्किएनन्। उनी बेपत्ता भएको एकदिनपछि धादिङको गजुरी फुर्के खोलाको प्रतीक्षालयमा झुण्डिएको अवस्थामा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।
त्यसपश्चात परिवारको सदस्य धादिङ पुग्दा उनको शव गाडिसकिएको थियो। एक दुई दिन पनि नपर्खिकन परिवारको खोजतलास नगरी शव गाडिनु नै शंकास्पद भएको भन्दै मिजारको परिवारले हत्या गरेको आरोपमा मुद्दा दर्ता गराएको थियो।
जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरले मिजारलाई न्याय दिलाउन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।
सर्वोच्च अदालतले २०८० फागुन ८ गते पेशी तोकेको छ।
अन्तरजातीय प्रेमसम्बन्धका कारण अजितको हत्या गरिएको परिवारको दाबी छ। अजितको शव ८ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।