काठमाडौं । साहुबाट छुटकारा र न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका मिटरब्याज पीडितहरु बिहीबार चितवन आइपुगेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । उनीहरु अब चितवनबाट साझा मार्च लिएर काठमाडौं आउँदैछन् ।
आफूहरुले पटक-पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरुले देशव्यापी मिटरब्याज पीडितहरुलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन् ।
यसअघि सरकारले छानविन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थालेपनि त्यसबाट आफूहरुलाई पूर्ण न्याय नमिलेको उनीहरुको गुनासो छ ।
सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ । सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरुको समस्या ज्यूँकात्यूँ छ ।