काठमाडौं । १६ औँ विश्व सामाजिक मञ्च बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

विश्वभरका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले पाँच दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र छिमेकी भारतसहित ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र अभियन्ताहरु सहभागी छन् । सामाजिक आन्दोलनका क्षेत्रमा नेपालमा पहिलो पटक यतिको ठूलो सम्मेलन भइरहेको हो । ‘अर्को विश्व सम्भव छ’भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा बिहीबार भृकुटीमण्डपदेखि रत्नपार्कसम्म र्‍याली निकालिएको छ ।

हालसम्म अन्तर्राष्ट्रिय श्रम संगठन महासंघ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अथिति वक्ताको सहभागिता निश्चित भएको नेपाल आयोजक समितिका सदस्य नेत्र तिमिल्सिनाले जानकारी दिए ।

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूल विधामा आधारित चार सय कार्यक्रम दर्ता भएका भन्दै विद्यमान विश्व व्यवस्थाले अंगीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुने उनले बताए । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया