काठमाडौं । गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्साहनको जाहेरी बनाएर ३२ दिनपछि मात्रै दर्ता गरेको उनको भनाइ छ ।
सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्ने मात्रै नभई दोषीलाई उम्काउन समेत षड्यन्त्र गरेको आरोप लगाए । ‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथ दिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्यायबाहेक अरु केही चाहिन्नँ, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु,’ उनले भने ।
मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहन नभई जबरजस्ती करणी र हत्या नै भएको दाबी गरे ।
ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलात्कारपछि हत्या गरेको दाबी गरे । घटना भएको पुष १ गते राती ८ बजे मृतक रेजिनाको घर नजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै भने, ‘मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुन सक्दैन ।’
एकीकृत दलित मुक्ति मोचा, नेपालका संयोजक दर्शन कुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु कुनै पनि हदसम्म जाने बताउँदै भने, ‘मृतक रेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरु केलाउँदा घटना आत्महत्या दुरुत्साहन नभई जबजस्ती करणी र हत्या नै भएको भएको देखिन्छ ।’
संयोजक नेपालीले बलत्कार पछि हत्या नै भएको आधार दिदै भने,“मंसिर २९ गते भागि बिहे गरेकी बिपना नेपालीलाई पुर्याउन गएकी मृतक रेजिनाका ३ जना साथीहरुलाई फर्किने क्रममा नाइन भन्ने ठाउँमा गाडीमा लक गर्ने र प्रतिबादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५-३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सल प्रतिबादी रावतसँगै हुनु, प्रतिबादी घटना भएको समयमा नजिकै भेटिनु, घटनापछि फरार हुनु, प्रहरी प्रशासनले ३२ दिनसम्म जाहेरी नलिनु, पीडितले दिएको बलात्कार तथा हत्याको जाहेरीलाई उल्ट्याउँदै आत्महत्या दुरुत्साहनको जाहेरी दिन दबाब दिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको सवलाई अन्त्यष्टि गर्न मनोवैज्ञानिकरुपमा दबाब दिनु र पीडितको पक्षमा बोल्नेहरुलाई प्रहरी चौकीबाट बाहिर निकाल्नु लगायतका अन्य अदृष्य षड्यन्त्र हुनु प्रतिबादी बचाउनु मुख्य आधार हुन् ।’
पीडितले न्याय नपाए त्यसको दोषी सिंगो एकात्मक ब्राह्मणबादी राज्य व्यवस्था हुने र त्यसको डटेर प्रतिबाद गरिने नेता नेपालीले चेतावनी दिए । सो मोर्चाका नेता राम नेपालीले सो घटनालाई ओझेलमा पारी पीडकलाई उन्मुक्ति दिने अनेक षडयन्त्र भइरहेको बताए ।