रौतहट । गरिबीका कारण सामान्य धरौटीसमेत बुझाउन नसक्दा मधेशका आठ जिल्लामा १७१ जना आरोपित थुनामा बस्न बाध्य छन् ।

पर्सामा मात्रै यस्ता आरोपितको संख्या ३३ जना छ । धनुषामा ३१, सर्लाहीमा २६, सिरहामा २४, बारामा १९, महोत्तरीमा १३ र सप्तरीमा १० जना आरोपितहरु थोरै रकम धरौटी जम्मा गर्न नसकेर जेलमा बस्न बाध्य छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सामान्यतः कुनै व्यक्तिविरुद्ध मुद्दा दायर भएपछि अदालतमा न्यायाधीशले थुनछेक आदेशमार्फत अन्तिम फैसला नआउँदासम्म अभियुक्तलाई थुनामै राख्ने, धरौटी मागेर तारिखमा छाडिदिने वा धरौटीसमेत नमागी साधारण तारिखमा रिहा गर्ने भन्ने आदेश दिन्छन्। तर, धरौटी बुझाउन नसकेपछि तोकिएको रकम बराबरको कैद भुक्तान गरेर मात्र निस्कनुपर्छ। कारागारको नियमअनुसार एक दिनको ३ सय रुपैयाँका दरले कैद भुक्तानी हुन्छ ।

गौर नगरपालिका-४ का २० वर्षीय विशाल पटेल २० हजार रुपैयाँ धरौटी बुझाउन नसकेर ७ महिनादेखि जेलमा छन् । गाउँमा ३ धुर जमीनमा बनेको एक घरमा विशाल र उनका काकाको गरी २ परिवार बस्छन् । उनीविरुद्ध चोरी मुद्दा अदालतमा विचाराधीन छ । तर आर्थिक अभावका कारण परिवारले २० हजार रुपैयाँ जोहो गर्न सकेको छैन, जसले गर्दा धरौटीमा रिहा हुन आदेश भएका उनी अहिलेसम्म जेलमा बस्न बाध्य छन् ।

गरिबीकै कारण ७ कक्षाभन्दा माथि पढ्न नपाएका उनी फर्नीचरको काम सिक्दै थिए । त्यही बेला उनलाई छिमेकीको झोला र मोवाइल चोरीको आरोप लाग्यो । त्यही मुद्दाले उनलाई ७ महिनादेखि जेलमा थन्काएको छ ।

मधेशमा गरिबी र अशिक्षाका कारण सर्वसाधारण नागरिकले दुई छाक जुटाउन सकस छ । तर कतिपय झुटो आरोपमा फसाइएकादेखि अदालतबाट निर्दोष सावित हुने मुद्दाहरुमा समेत धरौटी बुझाउन नसकेर जेलमा थन्किएर बस्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया